Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


भैँसे–भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव


0
Shares

काठमाडौं । वागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मदन भण्डारीमार्गअन्तर्गत भैँसे—भीमफेदी सडकखण्डलाई राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न प्रस्ताव गरेको छ ।

त्रिभुवन राजपथको भैँसेबाट भीमफेदीमा निर्माण हुने प्रस्तावित सुरुङमार्गको मुखसम्मको सडकलाई मन्त्रिस्तरीय निर्णय गरेर राष्ट्रिय प्राथमिकताको योजनामा छनोट गर्न मुख्यमन्त्री कार्यालयमा प्रस्ताव पठाएको वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

उक्त सडकखण्ड सुरुङमार्गकै एउटा खण्ड रहेको र सोहीअनुरुप सडकको विस्तार थालिसकिएको उहाँले बताउनुभयो ।

उहाँले सुरुङमार्ग निर्माणको काम तत्काल शुरु गरिने जानकारी पनि दिनुभयो ।

सुरुङमार्ग निर्माणका लागि विभिन्न देशका १२ वटा कम्पनीले परामर्शदाताको रूपमा काम गर्न इच्छाएर प्रस्ताव प्रस्तुत गरेको जानकारी दिँदै मन्त्री फुँयालले परामर्शदाताको छनोटलगत्तै सुरुङमार्गको निर्माणका लागि बोलपत्र आह्वान गरिने बताउनुभयो ।

मन्त्री फुँयालले मकवानपुरको भैँसेबाट भीमफेदी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौँ बल्खुसम्मको ६५ किलोमिटर सडक विस्तारको काम द्रुतगतिमा भइरहेको बताउनुभयो ।

उहाँले सोहीमार्गअन्तर्गत ५० करोड लागतमा भैँसेबाट भीमफेदीसम्मको सडक स्तरीकरण गर्ने कार्य प्रारम्भ भइसकेको पनि जानकारी दिनुभयो ।

सुरुङ निर्माणको काममा गति पैदा भएको भन्दै मन्त्री फुँयालले चालू आर्थिक वर्षको अन्त्यसम्ममा जनताले प्रत्यक्ष अनुभूत गर्ने अवस्थामा पुर्‍याउने दाबी गर्नुभयो ।

वागमती प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको सुरुङमार्ग निर्माणमा सहकार्य गर्न सङ्घीय सरकारले समेत कार्यदल गठन गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदलले एक महिनाभित्र प्राविधिक, आर्थिक र कानूनी पक्षको अध्ययन गरी प्रतिवेदन पेश गर्नुपर्ने छ ।

पोष्टबहादुर सुरुङमार्ग निर्माणका लागि १८ अर्ब सात करोड खर्च हुने अनुमान गरिएको छ ।