नबराज छत्कुली, धादिङ । देशको लाइफलाइन मानिने पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक संचालनमा ल्याउन अझै १० दिन लाग्ने अनुमान गरिएको छ ।
त्रिशूली नदीमा आएको बाढीले तटीय क्षेत्र कटान गर्दा तलबाट सडक भासिएर भदौ १४ गतेदेखि अवरुद्ध सडक संचालन गराउन पाँच दिन अघिदेखि निरन्तर प्रयास भइरहेको छ । हालसम्म ट्याक छिचोलेर भासिकएको ठाउँ भन्दा कुनापट्टीबाट सडक चौडा गरिँदैछ ।
सानाठूला गरी दैनिक ७ देखि ९ वटा डोजर प्रयोग भइरहेको छ । यही गतिमा काम निरन्तर जारी राख्न सकियो भने अबको करिब १० दिनमा कृष्णभीरमा सडक मर्मत गरी सवारी आवागमन गराउन सकिने नागढुंगा मुग्लिन सडक आयोजनाका कन्सल्ट्यान्ट फिल्ड इन्जिनियर अशोक देवकोटाले बताउनुभयो ।
कृष्णभीरमा करिब तीन सय मिटर लम्बाइ र ४० मिटर उचाईबाट सडक डाउन गर्नुपर्ने भएकाले पनि तत्काल सडक संचालनमा ल्याउन कठिनाइ रहेको उनीहरुको भनाई छ ।
सडक सञ्चालनको प्रयास भइरहे पनि सडक खन्ने भू–भाग कमजोर भएकाले तत्कालै पूर्ण रूपमा सुरक्षित रूपमा सबै प्रकारका सवारी सञ्चालन गर्न चुनौती छ ।
कृष्णभीरको अवरोधका कारण पश्चिमबाट काठमाडौं आउने र काठमाडौं हुँदै पश्चिमतर्फ जाने ठुला यात्रुवाहक बस तथा मालवाहक सवारीको नियमित आवागमन प्रभावित भएको छ । यसले यात्रु, व्यवसायी तथा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत प्रत्यक्ष असर पारेको छ ।
कृष्णभीरसँगै पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका वडा नं. ३ सितलबजार, गजुरी गाउँपालिका वडा नं. २ परेवाभिर, छहरा, विहानी पम्प क्षेत्र, गजुरी गाउँपालिका वडा नं. ५ को बाङ्गे लगायतका स्थानमा पृथ्वी राजमार्ग अत्याधिक जोखिममा छ ।










प्रतिक्रिया दिनुहोस्