उपत्यकामा होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न पाइने, सवारीमा जोर/बिजोर कायमै


Imagekhabar
३१ भाद्र २०७७, बुधबार २०:३७

cdo

काठमाडौं, भदौं ३१ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले असोज १ गते (भोलि) देखि होटल तथा रेष्टुरेन्ट सञ्चालनमा लगाएको रोक हटाएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्चालन खुला गरिएको जानकारी दिनुभयो ।

तर काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर/बिजोर भने अर्काे आदेश नहुञ्जेल कायमै राखिएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने र उपत्यकामा सवारी साधन प्रवेशलाई पनि खुला गरिएको छ ।

मन्त्रिपरिषद्ले असोज १ गतेदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेकाले स्वास्थ्य प्रोटोकल कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय गरिएको दाहालकको भनाइ छ ।

काठमाडौं जिल्ला प्रशासनले सूचना प्रकाशित गरेर सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न नपाइने जनाएको छ ।

यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक कायमै राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्