चौराहा धनगढी क्रिकेट लिग च्याम्पियन, सुपर ओभरमा अत्तरिया पराजित • Image Khabar Image Khabar


चौराहा धनगढी क्रिकेट लिग च्याम्पियन, सुपर ओभरमा अत्तरिया पराजित


Imagekhabar
१३ चैत्र २०७२, शनिबार १३:३२

चौराहा धनगढी क्रिकेट लिग च्याम्पियन, सुपर ओभरमा अत्तरिया पराजित

धनगढी, चैत १३ । धनगढीमा सम्पन्न सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगको उपाधि टिम चौराहाले जितेको छ ।

शनिबार भएको फाइनलमा ‘सुपर ओभर’मा सीवाइसी अत्तरियालाई पराजित गर्दै चौराहाले उपाधि जितेको हो ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टिमले निर्धारित् ओभरमा समान १ सय ४६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

सुपर ओभरको सुरुमा ब्याटिङ गरेको अत्तरियाका विनोद भण्डारीलाई टिम चौराहाका तीव्रगतिका बलर योगेन्द्रसिंह कार्कीले पहिलो बलमै बोल्ड गरे ।

त्यसपछि महबुब आलमलाई साथ दिन आएका प्रेम तामाङ पनि पाँचौ बलमा रनआउट भएपछि अत्तरियाले तीन रनमात्रै बनाउन सक्यो ।

चार रनको विजयी लक्ष्य पाएको टिम चौराहाका लागि भुवन कार्कीले दोस्रो बलमा नै आफ्नो टिमलाई जित दिलाउन सफल भए ।

प्रतियोगितामा अर्धशतक बनाएका सीवाइसी अत्तरियाका प्रेम तामाङ ‘म्यान अफ द फाइनल’ घोषित भए ।

प्रतियोगितामा रोयल क्याम्पस रोडका सन्तोष भट्ट ‘म्यान अफ द सिरिज’ घोषित भए ।

उपाधिसँगै टिम चौराहाले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता अत्तरियाले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।

धनगढी क्रिकेट एकेडेमीको आयोजनामा भएको लिगमा पाँच टिमको सहभागिता रहेको थियो । यसपटक पहिलोपटक खेलाडीहरुको लिलामी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्