Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


बेल्जियममा जारी ‘इयू टी-२० बेल्जियम लिग’ मा एन्टवर्प एन्कर्स विजयी

नेपाली खेलाडीको बाहुल्य रहेको टोली जेबी ब्रुग्स भने ५ विकेटले पराजित

13
Shares

काठमाडौं । बेल्जियममा जारी ‘इयू टी–२० बेल्जियम लिग’ मा एन्टवर्प एन्कर्सले नेपाली खेलाडीको बाहुल्य रहेको टोली जेबी ब्रुग्सलाई ५ विकेटले पराजित गर्दै विजयी भएकाे छ ।

बेल्जियममा मंगलबार राति भएको खेलमा ब्रुग्सले प्रस्तुत गरेको १ सय ९ रनकाे लक्ष्य पछ्याएको एन्टवर्पका कप्तान मार्टिन गप्टिललाई गुल्सन झाले पहिलो ओभरको दोस्रो बलमै पेभिलियनको बाटो देखाएका हुन् । गुल्सनले धारिलो बलिङ गर्दै टोलीलाई महत्त्वपूर्ण सफलता दिलाएका छन् । टोली पराजित भए पनि नेपाली अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अर्का नेपाली स्टार दीपेन्द्रसिंह ऐरीले पनि बलिङ र फिल्डिङमा आफ्नो प्रभाव छोडेका छन् । उनले आफ्नो पहिलो ओभरको पाँचौँ बलमा म्याक्स छुलाई व्यक्तिगत १ रनमा आउट गर्दै २ विकेट लिएका थिए। बलिङबाहेक फिल्डिङमा समेत चमक देखाएका दीपेन्द्रले मिड–विकेट क्षेत्रबाट सिधा थ्रो गर्दै लुब्बेलाई शानदार रनआउट गरेका छन् । उनको यो उत्कृष्ट फिल्डिङको खेलका क्रममा कमेन्टेटरहरूले समेत खुलेर प्रशंसा गरेका थिए ।

तर, ब्याटिङतर्फ भने नेपाली खेलाडीको प्रदर्शन फिक्का रह्यो । दीपेन्द्र खेलको दोस्रो बलमै मात्र १ रन बनाएर आउट हुन पुगे भने गुल्सन ९ बलमा ९ रन बनाएर आउट भएका थिए । हारसँगै प्रतियोगितामा चार खेल खेलेको ब्रुग्सले दुई जित र दुई हारसहित ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा चित्त बुझाएको छ ।