Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


बेगनासतालमा आजदेखि खुला पुरूष तथा महिला डुंगा दौड प्रतियोगिता हुँदै

प्रतियोगितामा २२ टोलीको सहभागी रहने अपेक्षा

13
Shares

काठमाडाैं । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा बुधबारदेखि छैठाैं संस्करणको खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगिता आयोजना हुँदै छ ।

बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा हुने प्रतियोगिताले बेगनासताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने दावी गरिएकाे हाे । समितिका अध्यक्ष नवाराज बाँस्तोलाले तालको महत्वबारे उजागार गर्दै जल दुर्घटना सम्बन्धी सचेतना फैलाउने उद्देश्य राखिएको बताएका छन् । पुरुषतर्फको दौड बेगनासताल तथा डुंगाघाटदेखि रातोटुँडा र कँडेलटुँडाको बीच भागसम्म करिब दुई किलोमिटर दूरीमा हुनेछ ।

महिलातर्फको प्रतिस्पर्धा बेगनासताल डुङ्गाघाटदेखि पिप्लेटुँडासम्म एक किलोमिटर दूरीमा सञ्चालन गरिनेछ । यसले खेल पर्यटनमार्फत आन्तरिक पर्यटक आकर्षित गर्ने विश्वास आयोजकको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा हुने प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम हुने टोलीले १५ हजार, द्वितीय हुनेले १० हजार, तृतीय हुनेले पाँच हजार तथा सान्त्वना स्थान प्राप्त गर्ने टोलीले तीन हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने निर्णायक समितिका संयोजक रविराज कँडेलले जानकारी दिएका हुन् ।

प्रतियोगितामा महिला र पुरुषतर्फ गरी २२ टोलीको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रत्येक टोलीमा तीन जना डुंगा चालक रहने संयोजक कँडेलले बताएका हुन् ।