Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


४८ देश सहभागी फिफा विश्वकप आज मध्यरातिदेखि शुरू हुँदै

उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने

0
Shares

काठमाडाैं । फुटबलको इतिहासमै पहिलो पटक ३ देश अमेरिका, मेक्सिको र क्यानाडा आयोजक रहेको फिफा विश्वकप २०२६ बिहीबार मध्यरातिदेखि शुरु हुँदैछ ।

विश्व फुटबलको महाकुम्भको पहिलो दिन दुई वटा खेल हुने भएकाे हाे । उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्ने भएकाे छ । पहिलो दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच हुने भएकाे छ। याेसँगै ४८ देश सहभागी विश्वकपको प्रतिस्पर्धा शुरु हुने भएकाे हाे । यस पटकको विश्वकप इतिहासमै सबै भन्दा ठूलो संस्करण हो ।

तीन वटा देशको १६ शहरमा खेलाइने प्रतियोगिता ३९ दिनसम्म संचालन हुने भएकाे छ । कूल १ सय ४ खेल हुने भएका हुन् । फिफाले प्रतियोगिताका लागि १ हजार २ सय ४८ खेलाडी छनोट भएकाे जनाएकाे छ। जसमध्ये ८ सय ९१ खेलाडी पहिलो पटक विश्वकप खेल्दैछन् । ३ सय ५७ खेलाडी भने पहिले विश्वकप खेलिसकेका हुन् ।

यस पटक केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा स्थान बनाएका छन् । उद्घाटन खेलअघि भव्य उद्घाटन समारोह आयोजना गरिने भएकाे हाे । समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बल्भिन, टाइला, आलेहान्द्रो फर्नान्डेज, बेलिन्डा र मानालगायत चर्चित कलाकारहरूको प्रस्तुति रहने भएकाे छ ।

मेक्सिकोमा बिहीबार पहिलो उद्घाटन समारोहपछि क्यानाडाको टोरन्टोमा दोस्रो उद्घाटन समारोह हुने भएकाे । बिहीबार राति नै अमेरिकाको लस एन्जलसमा तेस्रो उद्घाटन समारोह आयोजना गरिने भएकाे छ । प्रतियोगिता अमेरिकाका ११, मेक्सिकोका ३ र क्यानाडाका २ शहरमा खेलाइने भएकाे हाे । कूल खेलमध्ये अधिकांश खेल अमेरिकामा हुनेछन् ।

फाइनल खेल न्युयोर्कको मेटलाइफ स्टेडियममा खेलाइने भएकाे हाे । मेसी, रोनाल्डो, एम्बाप्पेसँगै नयाँ पुस्ताका स्टारहरूबीचको प्रतिस्पर्धाले यो विश्वकप ऐतिहासिक बनाउने अपेक्षा गरिएको फिफाले जनाएकाे छ ।