Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


सहरलाई कुरुप बनाएको भन्दै नेटका कर्मचारी नियन्त्रणमा


39
Shares

काठमाडौं, असार २८ । जथाभावी तार टाँगेर सहरलाई कुरुप बनाएको भन्दै इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिइ सचेत गराएको छ ।

तार जडान गर्नेक्रममा अरूको तार काट्ने र आफ्नो तार जडान गरेको, जथाभावी तार टाँगेर सहरलाई कुरुप र जोखिमपूर्ण बनाएको भन्दै कामपा–१६ ले तीनओटा इन्टरनेट सेवा प्रदायक कम्पनीका कर्मचारीलाई नियन्त्रणमा लिइ आगामी दिनमा यसो नगर्न निर्देशन दिएको छ ।

बालाजु, बाइपास क्षेत्रमा तारको काम गरिरहेका बेला कामपा–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निर्देशनमा प्रतिनिधिमूलक तीनजना कर्मचारीलाई नियन्त्रणमा लिइ आफ्नो काम गर्नेक्रममा अरूलाई असर नपुर्‍याइ सुन्दर सहरलाई जोगाउन सचेत गरिएको छ ।

यसरी नियन्त्रणमा लिइएका कर्मचारी वर्ल्ड लिंक, भायोनेट र नेट म्याक्सका थिए ।

बिहीबार बिहान ११ बजे ‘इन्टरनेट सर्भिस प्रोभाइडर’ एसोसिएसन अफ नेपालका कोअर्डिनेटर विनोद जोशीको नेतृत्वमा कम्पनीका प्रतिनिधि वडा कार्यालय पुगेर वडाध्यक्षसँग आफ्ना समस्या बुझिदिन आग्रह गर्दै आगामी दिनमा सहरको सुन्दरतालाई जोगाउने कार्यमा आफूहरु लागिपर्ने बताएका थिए ।

आफूकहाँ आएका इन्टरनेट सेवा प्रदायकको कुरा सुनेपछि वडाध्यक्ष रिजालले सहरी सुरक्षाका लागि आफूहरुले राखेको सीसीटीभी क्यामेराको तार छुटेकाले यी सबै व्यवस्थापन गरेरमात्र काम अघि बढाउनुपर्ने बताए । रासस