
काठमाडौं, असार २२ । फ्रान्समा जारी युरोकप फुटबलका सेमिफाइनल खेल बुधबार (आज)देखि सुरु हुँदैछन् ।
पहिलो सेमिफाइलनमा नेपाली समयअनुसार राति (विहीबार बिहान) पौने १ बजे लियोंमा पोर्चुगल र वेल्स भिड्नेछन् ।
पोर्चुगल र वेल्स कुनैपनि ठूलो फुटबल प्रतियोगिताको पहिलो उपाधिको खोजीमा रहेकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने धेरैको अनुमान छ ।
समूह चरणमा एउटा पनि खेल जित्न नसकेको पोर्चुगल योपटक भाग्यमानी साबित हुँदै आएको छ ।
आइसल्यान्ड, हंगेरी र अष्ट्रियासँग बराबरी खेल्दै समूहमा तेस्रो स्थान ओगटेर ‘राउन्ड अफ सिक्सटिन’मा पुगेको पोर्चगलले नकआउट चरणको पहिलो खेलमा क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको थियो ।
त्यसैगरी, क्वार्टरफाइनलमा पोल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगलले सेमिफाइनलमा स्थान बनाएको हो ।
सेमिफाइनलसम्म आइपुग्दा पाँच खेल खेलेको पोर्चगलले एउटा पनि खेल ९० मिनेटको समयमा जित्न सकेको छैन ।
वेल्सको यात्रा भने पृथक छ । समूह चरणमा इंग्ल्यान्डसँग २–१ ले हारेको वेल्स स्लोभाकिया र रुसलाई हराउँदै समुह विजेताकोरुपमा ‘राउन्ड अफ सिक्सटिन’मा पुगेको थियो ।
उक्त चरणमा नर्दन आयरल्यान्डलाई १–० ले हराएको वेल्सले क्वार्टरफाइनलमा बलियो टोली बेल्जियमलाई ३–१ ले पाखा लगाएको थियो ।
उपाधि दावेदार बेल्जियममाथिको सहज जितसँगै वेल्सको मनोबल निकै उच्च बनेको छ ।
सन् १९५८ को विश्वकप फुटबलको क्वार्टरफाइनलसम्म प्रवेश गरेको वेल्स कुनैपनि ठूलो फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो ।
आजको खेललाई पोर्चुगल र वेल्सका दुई चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलको भिडन्तकोरुपमासमेत हेरिएको छ ।
स्पेनिस क्लब रियाल मड्रिडबाट व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डो र बेललाई समकालीन विश्व फुटबलका सर्वाधिक प्रतिभावान् र सफल खेलाडीमध्येका दुई मानिन्छन् ।
युरोकप फुटबलको दोस्रो सेमिफाइनलमा विहीबार राति आयोजक फ्रान्स र जर्मनी भिड्नेछन् । –एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया दिनुहोस्