
काठमाडौं, साउन १२ । राष्ट्रपति विद्या भण्डारीले सहमतीय सरकार गठनका लागि आह्वान गरेपछि दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
तत्काल सहमतिको सरकार बन्ने सम्भावना कम भएपछि नयाँ गठबन्धन बनाएका दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच विभिन्न कोणबाट छलफल भइरहेको छ ।
आज बिहान सिंहदरबारमा भएको दुई दलका नेताहरुको बैठकले आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाउने समझदारी गरेका छन् । कांग्रेस र माओवादी शीर्ष नेताहरुको बैठकमा स्थानीय तहको चुनावबारे छलफल भएको हो ।
नयाँ सरकार गठनलगत्तै आगामी फागुन–चैतभित्र स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाउन नेताहरुले सहमति गरेका हुन् । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले मंसिरमा स्थानीय निकायको चुनाव गर्ने प्रस्ताव गरेको थियो ।
तर अब नयाँ गठबन्धनअन्तर्गत प्रचण्ड प्रधानमन्त्री बन्ने भएकाले उक्त सरकारले नयाँ मितिमा चुनाव गर्नेगरी नेताहरुले छलफल गरेका हुन् ।
यसका लागि संविधान अनुसार स्थानीय तहको पुनःसंरचना गरेर चुनाव गर्ने र त्यसका लागि पुनःसरचना आयोगलाई चाँडै काम सकाउन दलहरुले आग्रह गर्ने भएका छन् ।
स्थानीय तहको पुनःसंरचनाका लागि बनेको आयोगले ५६५ स्थानीय तहको प्रस्ताव गरेको छ । जसमा कांग्रेसले संशोधन गर्नुपर्ने जनाएको छ ।
आजको बैठकमा यसबारे पनि छलफल भएको र स्थानीय तहको पुनःसंरचनालाई बैज्ञानिक र व्यवहारिक बनाउन पहल भएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।
यसबारेमा कांग्रेस माओवादीका नेताले एमालेसहितका दलहरुसँग पनि छलफल गर्ने र साझा राय बनाउन प्रयास गर्ने सहमति गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्