साग फुटबलमा स्वर्ण विजेता खेलाडीले जनही दुई लाखमात्र पाए « Imagekhabar – Online News Portal of Nepal
२३ श्रावण २०७९, सोमबार | Mon Aug 8 2022


साग फुटबलमा स्वर्ण विजेता खेलाडीले जनही दुई लाखमात्र पाए


0
Shares

काठमाडौं, साउन १३ । १२औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद संघहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलगायतले सम्मान गरे ।

गत फेब्रुअरी ५ देखि १६ तारिखसम्म भारतको गुवाहाटी र सिलोङमा भएको प्रतियोगितामा नेपालले ३ स्वर्ण २३ रजत र ३४ कास्यसहित ६० पदक जितेको थियो ।

उक्त प्रतियोगितामा व्यक्तिगत् र टिम इभेन्ट्समा पदक जितेका १७९ खेलाडी, ५१ प्रशिक्षक तथा १८ संघलाई पुरस्कृत गरिएको हो ।

सोअनुसार व्यक्तिगत् स्पर्धामा स्वर्ण जितेका निमा घर्तीमगर र फुपूल्हामु खत्रीले जनही रु पाँच लाख पाए ।

त्यसैगरी, फुटबल टोलीका २० खेलाडीलाई भने जनही रु दुई लाख प्रदान गरियो । उनीहरुलाई पनि रु पाँच लाख प्रदान गरिने निर्णय गरिएको भएपनि प्राविधिक कारणले रु दुई लाखमात्र प्रदान गर्न सकिएको बताइएको छ ।

त्यसैगरी, व्यक्तिगत् स्पर्धामा रजत जित्ने प्रत्येक खेलाडीले रु तीन लाख पाउँदा कास्य जित्नेले जनही रु दुई लाख हात पारे ।

साथै, टिम इभेट्समा रजत जित्नेले रु एक लाख ५० हजार तथा कास्य जित्नेले रु एक लाख हात पारे ।

त्यस्तै, विभिन्न खेलका ५१ प्रशिक्षकले रु ५० हजारदेखि तीन लाखसम्म प्राप्त गरे भने १८ खेलकुद संघले रु दुई लाखदेखि पाँच लाखसम्म पुरस्कार पाए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल खेल परम्परा र संस्कृतिका दृष्टिकोणले गौरवशाली देश भएको बताए ।

‘लिगलिगकोटमा दौडिएर जित्नेमात्र राजा हुने परम्परा’को दृष्टान्त दिँदै उनले ‘यस्तो परम्परा अन्य देशमा भएको आफूलाई थाहा नभएको’ चर्चा गरे ।

उनले भने–‘दौडिएर राजा हुने कुरा छोडिदिउँ, तर अब दौडिएरै स्वर्णपदक भने तपाइँहरुले लिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले नेपाली खेलकुद क्षेत्रले केही सुखद् सफलता हासिल गरेको भएपनि त्यसैमा चित्त बुझाएर नबस्न खेलाडीलाई आग्रह गर्दै भने–‘यो सन्तुष्ट भइहाल्ने क्षेत्र परेन थप सफलताका लागि प्रयास गर्नुपर्छ ।’–

उनले आफू जुनसुकै पदमा रहेपनि खेलकुद र खेलाडीका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस