एलेप्पो सहरमा हवाइ आक्रमण रोक्न दबाब,चिकित्सकहरु आक्रोशित • Image Khabar Image Khabar


एलेप्पो सहरमा हवाइ आक्रमण रोक्न दबाब,चिकित्सकहरु आक्रोशित


Imagekhabar
२७ श्रावण २०७३, बिहीबार १४:४२

एलेप्पो सहरमा हवाइ आक्रमण रोक्न दबाब,चिकित्सकहरु आक्रोशित

काठमाडौं, साउन २७ । सिरियाको एलेप्पो शहरमा स्वास्थ्य सामग्री सकिँदै गएकाले सेवा दिन नसकिने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

२९ जना चिकित्सकले अमेरिकी राष्ट्रपति बराक ओबामालाई सहयोगका लागि सामूहिक पत्र लेख्दै एलेप्पोमा हवाई आक्रमण रोक्ने व्यवस्थाका लागि पनि अपील गरेका छन् ।

विद्रोही नियन्त्रित उक्त शहरमा रहेका दुई लाख ५० हजार नागरिकका लागि तत्काल राहतको व्यवस्था गर्न पनि उनीहरुले आग्रह गरेका छन् ।

स्वास्थ्य सेवा प्रदायकमाथि आक्रमण भइरहेको र यही दरमा आक्रमण भए अबको एक महिनाभित्र एलेप्पोमा कोही पनि चिकित्सक बाँकी नरहने पत्रमा उल्लेख छ ।

अस्पताल जस्ता क्षेत्रमासमेत हवाई आक्रमण गरी अन्धाधुन्ध रुपमा नागरिक मार्न थालिएकाले उक्त क्षेत्रलाई हवाई उडान निषेधित क्षेत्र कायम गर्न उनीहरुले माग गरेका हुन् ।

अनगिन्ती मानिस मारिनु र जलेको घाइतेहरुको उपचार हुन नसक्नु जस्तो मानवीय संकट सम्बोधन गर्न उनीहरुले ध्यानाकर्षण गराएका छन् ।

रुसको नेतृत्वमा हवाई आक्रमण भइरहेको उक्त क्षेत्रमा तीन घण्टाका लागि कार्वाही रोकेको उसले जनाएको छ ।

यस समयमा राहत सामग्री जान दिने रुसले जनाएपनि संयुक्त राष्ट्रसंघले भने यो अवधि अत्यन्तै कम भएको भन्दै कम्तिमा ४८ घण्टाका लागि कार्वाही रोक्न भनेको छ । रुसले सिरियाली राष्ट्रपति बशर अल असदको पक्षमा विद्रोहीविरुद्ध आक्रमण गरिरहेको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्