२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


रियो ओलम्पिकमा सरस्वतीले बनाइन राष्ट्रिय कीर्तिमान


0
Shares

काठमाडौं, साउन २९ । ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकमा नेपालकी सरस्वती भट्टराई १५ सय मिटर मध्य दूरीको दौडमा हिट्सबाट बाहिरिएकी छिन् ।

हिट्स नम्बर १ मा १४ जना दौडिएको दौडमा उनी १३ औं स्थानमा रहेकी हुन् । सरस्वतीले २६ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान भने भंग गरेकी छिन् ।

एथ्लेटिक्सकै हरिप्रसाद रिमालले भने पाँच हजार मिटर दौडमा भदौ १ गते बुधबार प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि शुक्रबार ओलम्पिकमा भाग लिन नेपाली तेक्वान्दो टोली ब्राजिल गयो । ओलम्पिकमा तेक्वान्दोतर्फ निशा रावलले महिला ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन् ।

भदौ ४ गते प्रतिस्पर्धा गर्ने निशाले आफूले अहिलेसम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्ने जनाएकी छिन् । उनलाई १२ वर्षअघि छनोट चरण पार गरेर एथेन्स ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी संगीना वैद्यले दिएको प्रशिक्षणलेसमेत हौसला बढाएको छ ।

संगीनाले पनि आफूले पूरा गर्न नसकेको खेललाई निशामार्फत पूरा गराउन भरपूर प्रयास गर्ने बताइन् ।

जारी ओलम्पिकमा नेपालका शिरिष गुरुङले पौडीतर्फ राष्ट्रिय कीर्तिमान तोड्नुबाहेक अरु कुनै पनि खेलाडीले उत्साहजनक प्रदर्शन गरेका छैनन् ।

नेपालबाट पौडीवाज शिरिष र गौरिका सिंह, आर्चरीका जीतबहादुर मोक्तान र जुडोकी फपुल्हामु खत्रीले प्रतिस्पर्धा गरिसकेका छन् ।