३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


सुदूरपश्चिम प्रदेशमा बजेट खर्च निराशाजनक


0
Shares

विराज रोस्यारा

कैलाली, वैशाख ४ । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्च अत्यन्तै निराशाजनक देखिएको छ । आर्थिक वर्षको ९ महिना बितिसक्दासम्म १० प्रतिशतमात्र बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षको लागि सुदुरपश्चिम प्रदेशले २५ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो । जसमध्ये फागुन मसान्तसम्मको तथ्यांकअनुसार साढे २ अर्ब रुपैयाँ बजेटमात्र खर्च भएको छ ।

तर यस अवधिमा कुल बजेटको करिब ६२ प्रतिशत बजेट खर्च गर्ने अख्तियारी पाइसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ   चालु आर्थिक वर्षमा पुँजीगततर्फ कुल ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार रुपैयाँ बजेट विनियोजन गरिएकामा ७७ करोड ३२ लाख रुपैयाँमात्र खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

विकास बजेट खर्चमा ढिलासुस्ती भएपछि प्रदेशसभा बैठकमा सत्तापक्षकै सांसद्बाट प्रदेश सरकारको आलोचना भइरहेको छ । चालु आर्थिक वर्षको अन्तिम चौमासिक लाग्दासम्म बजेट कार्यान्वयन हुन नसक्नुले जनतामा नैराश्यता बढेको सत्तारुढ दल नेकपाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद् चुनकुमारी चौधरी बताउँछिन् ।

नेपाली कांग्रेसका सांसद भरत खड्का पटक पटक सरकारको ध्यानाकार्षण गराएको बताउँदै सरकारमा बसेका व्यक्तिहरु गम्भीर नहुँदा विकास बजेट खर्च नहुने अवस्था आएको बताउँछन् ।

आर्थिक वर्षको दोस्रो चौमासिक सम्म जम्मा १२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको प्रदेश सरकारले जेठसम्म सन्तोषजनक प्रगति गर्ने दाबी गरेको छ । जनताको अपेक्षा अनुसार प्रगति नभएको बताउँदै सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जेठसम्म ७० प्रतिशत प्रगति गर्ने बताए ।