Logo ५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026


ओखलढुंगाकाे स्थानीय हाट-बजारमा खसी-बोकाको अभाव (भिडियाे रिपाेर्ट)


91
Shares

ओखलढुंगा। ओखलढुंगाका स्थानीय हाट-बजारमा खसी-बोकाको अभाव देखिन थालेको छ।

व्यापारीहरू गाउँ-गाउँ पसेर काठमाडौंमा खसी-बोका पठाउन थालेपछि स्थानीय हाटबजारमा खसी-बोकाको अभाव भएको हो । खसी-बोका अभाव भएसँगै मूल्य वृद्धि समेत भएको छ ।

अन्य सिजनको तुलनामा यो समयमा ओखलढुंगाका स्थानीय हाट-बजारमा खसी-बोका धेरै आउनुपर्ने हो । तर यहि सिजनमा यहाँका स्थानीय हाटबजार सुनसान प्रायः छन् । व्यापारीहरू आफैँ गाडी लिएर गाउँगाउँ पुग्ने र किसानहरूबाट खसी-बोका खरिद गरेर सोझै काठमाडौँतर्फ पठाउन थालेपछि अहिले यहाँका स्थानिय हाटबजारमा खसी-बोका अभाव हुन थालेको हाे । ३० देखि ३५ किलोसम्मका खसी-बोकालाई गाउँमै स्थानीय बजारको भन्दा ५-६ हजार रुपैयाँसम्म बढी मूल्य दिएर व्यापारीहरूले काठमाडौं पठाउन थालेका छन् ।

जसका कारण जिल्ला सदरमुकाममा लाग्ने साप्ताहिक बुधबारे र शनिबारे हाटबजारमा खसी-बोकाको अभाव हुन थालेको हो । पहिले साढे ५ सयदेखि ६ सय रुपैयाँ प्रतिकिलोमा जिउँदै जोखेर पाइने खसीबोका अहिले सात सय रुपैयाँ प्रतिकिलो पुगेको छ । यहाँ अहिले खसीबोकाको मासु १ हजार २ सय रुपैयाँ प्रतिकिलो मूल्य पुगेको उपभोक्ताहरु बताउँछन् । व्यापारीहरू गाउँगाउँ पुगेर काठमाडौँ खसीबोका पठाउन थालेपछि हाटबजारमा पर्याप्त मात्रामा खसीबोका आउन छाडेका हुन् ।

हाट-बजारमा खसी-बोका नआउँदा र भएका पनि काठमाडौंतर्फ निकासी भइरहँदा स्थानीयस्तरमा महँगी अत्यधिक बढेको छ । स्थानीयस्तरमा लामो समयदेखि खसी-बोकाको कारोबार गर्दै आएका व्यापारीहरूसमेत जीवनमै यत्तिको महँगी नदेखेको बताउँछन् । काठमाडौं लैजानका लागि गाउँमै खसीबोका खरिद हुन थालेपछि स्थानीय बजारमा खसी पाउनै गाह्रो भइसकेको खसी व्यापारीहरुले बताएका हुन् ।

खसी-बोकाको मूल्यवृद्धि हुँदा उत्पादक किसानलाई भने राहत भएको छ । तर जिल्लाभित्रका हाटबजारमा खसीबोका किन्न आउने सर्वसाधारणहरू मूल्य सोचे भन्दा धेरै बढेकाले रित्तो हात फर्किन बाध्य भएका हुन् । विगतका वर्षहरूमा ओखलढुंगा सदरमुकामको हाट-बजारमा खसी-बोकाको खचाखच व्यापार हुने गरेकोमा अहिले बजार रित्तिए जस्तै बनेको छ ।

गाउँको उत्पादन सोझै काठमाडौंतर्फ पठाइने क्रम यसरी नै चलिरहे आगामी दशैंको समयमा जिल्लाका हाट-बजारहरूमा खसी-बोकाको चरम हाहाकार हुनुका साथै स्थानीयले खसीबोका पाउनै धौधौ पर्ने देखिएकाे छ ।

विस्तृतमा भिडियाे रिपाेर्ट हेर्नुहाेस्: