Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


त्रिपुरेश्वर बस आगलागीमा परी घाइते चालकको उपचारका क्रममा निधन


0
Shares

काठमाडौं । त्रिपुरेश्वर चाेकमा रिद्धिसिद्धि यातायातको बसमा आगो लगाउँदा गम्भीर घाइते भएका २५ वर्षीय चालक अर्जुनदावा लामाको उपचारका क्रममा मृत्यु भएको छ।

बा ५ ख ४२७४ नम्बरको सार्वजनिक बसभित्रै आगो लाग्दा गम्भीर घाइते भएका चालक लामाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा साेमबार राति मृत्यु भएको हाे। मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको बस त्रिपुरेश्वर चाेकमा साेमबार मध्याह्न आगजनी भएको थियो। आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिए पनि ९० प्रतिशत भन्दा बढी शरीर जलेका लामाको उपचारकै क्रममा मृत्यु भएको हो ।

घटना हुनु भन्दा केही मिनेट अघि साेमबार मध्याह्न १२ः३७ मिनेट जाँदा उनकाे ट्राफिक प्रहरीसँग विवाद भएको खुलेको थियाे ।मकवानपुरको इन्द्रसरोबर गाउँपालिका, सिस्नेरी स्थायी घर भई हाल कोटेश्वर बस्दै आएका लामाका ७ भाइ मध्ये एक हुन्। विगत ६–७ वर्षदेखि सवारी चालकका रूपमा कार्यरत लामाले केही समयअघि ट्याक्सी तथा चन्द्रागिरि यातायात चलाउने गर्थे भने विगत ३-४ महिनादेखि रिद्धिसिद्धि यातायातमा कार्यरत थिए।

प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिकाे बारेमा थप अनुसन्धान अघि बढाएको जनाएकाे छ।