
काठमाडौं, भदौ २७ । भूकम्प प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाको काममा सरकारले ढिलाई गरेको भन्दै तिव्रता दिन सरोकारवालाहरुले माग गरेका छन् ।
राजधानीमा सोमबार भएको एक कार्यक्रममा उनीहरुले प्रभावित क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आधारभूत आवश्यकता पुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अंगभंग भएका, बिरामी भएकाहरुको अवस्था अहिले पनि दयनीय रहेको भन्दै डा. बासुदेव पाण्डेले भूकम्प प्रभावित क्षेत्रका जनताको स्वास्थ्यमा ध्यान दिन सरकारलाई आग्रह गरे ।
स्वास्थ्य सेवा विभाग कुष्ठरोग महाशाखाका उपनिर्देशक डा. माधवप्रसाद लम्सालले भूकम्प प्रभावित क्षेत्रमा नियमित स्वास्थ्य परीक्षण र उपचारको आवश्यकता रहेको बताए । उनले अंगभंग भएकाहरुका लागि विशेष स्वास्थ्य सेवाको आवश्यकता रहेकोमा जोड दिए ।
राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले भूकम्पबाट अपांग र अशक्त भएकाको अवस्था चिन्ताजनक रहेकाले राज्यले त्यस्ता व्यक्तिका लागि विशेष योजना बनाउनुपर्ने बताए ।
कार्यक्रमका सहभागीहरुले भूकम्प प्रभावित क्षेत्रका जनतामा स्वास्थ्य सेवा पुर्याउन सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्