
काठमाडौं, भदौ २७ । जनगणतन्त्र कोरियाले गरेको आणविक परीक्षणप्रति नेपाल सरकारले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले हालै गरेको आणविक परीक्षणका सन्दर्भमा नेपाल सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
विज्ञप्तिमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद् तथा अन्तर्राष्ट्रिय समुदायको अवज्ञा गर्दै कोरियाले आणविक परीक्षण गरेको भन्दै उक्त परीक्षणप्रति आपत्ति जनाइएको छ ।
सबै किसिमका आमविनाशकारी हतियारको पूर्ण निशस्त्रीकरणमा नेपालले लिएको स्थिर नीतिअनुसार त्यस्ताखाले परीक्षणको विरुद्ध नेपाल रहने पनि विज्ञप्तिमा उल्लेख छ ।
कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरताको कामना गर्दै परराष्ट्र मन्त्रालयमार्फत नेपाल सरकारले यस्ता गतिविधि रोक्न कोरियाली सरकारसँग आग्रहसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्