१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


महिला शौचालयमा शंकास्पद अवस्थामा पुरुषको शव भेटियो


0
Shares

भक्तपुर, भदौ । राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीको शौचालयमा शंकास्पद अवस्थामा सोमबार एक पुरुषको शव फेलापरेको छ ।

केन्द्रको महिला शौचालयमा अन्दाजी ४५ वर्षका एक पुरुषको शव फेलापरेको केन्द्रका निर्देशक विकास लामिछानेले जानकारी दिए ।

शौचालय सफा गर्न जाने सफाइ मजदुरले बाहिरबाट चुकुल लगाइएको शौचालयभित्र पुरुषको शव फेलापारेपछि प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

लामिछानेले भने–‘स्वास्थ्य परीक्षणका लागि आएका क्षयरोगका बिरामीको उच्च रक्तचाप वा अन्य कारणले शौचालयमै मृत्यु भएको हुनसक्छ । प्रहरीलाई बोलाएर शव बुझाएका छौं । के कारणले मृत्यु भयो खोज्ने काम प्रहरीको हो ।’

अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका अरु बिरामीले आइतबार पनि आएका उक्त बिरामी सोमबार पनि आएको र उसको साथमा पैसा पनि देखेको जानकारी दिएका छन् ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाकाअनुसार शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ ।

मृतकको साथबाट कुनैपनि कागजपत्र नभेटिएकोले पहिचान हुन सकेको छैन । रासस