
फाइल फोटो
काठमाडौं, भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल गणतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकीमुलुक भारतको चारदिने राजकीय भ्रमणका लागि विहीबार त्यसतर्फ जाँदैछन् ।
नयाँदिल्लीमा रहँदा प्रधानमन्त्री दाहाल भारतका राष्ट्रपति प्रणव मुखर्जीका राजकीय पाहुनाकारुपमा राष्ट्रपति भवनमा बस्नेछन् ।
प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठकमा भेटघाट गर्नेछन् ।
सोही दिन प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्नेछन् ।
राष्ट्रपति भवनमा शुक्रबार नै आयोजना हुने स्वागत् समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।
शुक्रबार बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गइ उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम तय भएको छ ।
यसअघि, दिल्लीस्थित नेपाली दूतावासमा बिहीबार आयोजना गरिने स्वागत् समारोहमा प्रधानमन्त्री दाहाल सरिक हुनेछन् ।
दिल्लीमा रहँदा प्रधानमन्त्री दाहाललाई भारत सरकारका केही वरिष्ठ मन्त्रीले छुट्टा–छुट्टै भेट्नेछन् ।
नयाँदिल्लीमा रहँदा प्रधानमन्त्री दाहालले त्यहाँका विद्वतवर्ग तथा व्यापारिक समुदायसँग अन्तरक्रिया र नेपाली समुदायसँग भेटघाट गर्नेछन् ।
प्रधानमन्त्री दाहालको यसपटकको भारत भ्रमणबाट दुई देशबीच युगौंको पुरानो तथा सहयोगात्मक मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ गर्न योगदान पुग्ने विश्वास गरिएको छ ।
व्यवस्थापिका–संसदमा भारत भ्रमणबारे बुधबार सार्वजनिक महत्वको वक्तव्य दिँदै प्रधानमन्त्री दाहालले ‘हाम्रो प्राथमिकता धेरै विषयको उठान गर्नुभन्दा असल नियतकासाथ नेपाल र भारतबीच विश्वासको निर्माण गर्ने र नेपालको हित हुने गरी यसअघि सहमतिमा पुगेका परियोजनाको प्रभावकारी र शीघ्र कार्यान्वय गर्नमा जोड दिइनेछ’–भने ।
सहमति र छलफलका प्राथमिकता
भ्रमणकाक्रममा हुने द्विपक्षीय बैठकमा नेपाल र भारतबीच भएको समझदारीपत्रअनुसार पहिलो चरणको हुलाकीमार्ग निर्माण कार्यको शीघ्र थालनी र दोस्रो चरणका लागि सहयोगको सम्भावनाकाबारेमा प्राथमिकताकासाथ कुराकानी हुनेछ ।
ऊर्जा क्षेत्रमा सहयोगको सम्बन्धमा यसअघि सम्पन्न भइसकेको उर्जाव्यापार सम्झौताको प्रभावकारी कार्यान्वयनलगायत पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदन गरी अन्य कार्य आरम्भ गर्न प्रमुख प्राथमिकताकासाथ पहल हुने प्रधानमन्त्री दाहालले बताए ।
भूकम्पपछिको पुनःनिर्माणमा भारतीय सहयोग, नेपाल–भारत सीमास्थित वीरगन्जमा एकीकृत चेकपोस्टको यथाशीघ्र निर्माण, विराटनगर, भैरहवा र नेपालगन्जमा पनि चेकपोस्ट निर्माण आरम्भ एवं भारतका तर्फबाट घोषणा भएका सहुलियतपूर्ण ऋणको पूर्वाधारका क्षेत्रमा उपयोग गर्नेबारेमा पनि छलफल हुनेछ ।
‘भारतसँगको नेपालको व्यापार घाटा कम गर्ने उपाय, गौरीफन्टा तथा दोधारा चाँदनीबाट व्यापार तथा पारवहनमार्ग सन्चालनको सम्भावना, दुई मुलुकबीच सीमापार रेल्वे स्थापना गर्ने सम्बन्धमा भइरहेका कामको प्रगति, सीमा क्षेत्रमा देखिएका डुबानसम्बन्धी समस्याको समाधान पनि भ्रमणकाबेला छलफल गर्ने गहन विषय हुन्’–प्रधानमन्त्री दाहाले भने ।
पत्र आदानप्रदान
प्रधानमन्त्रीको भारत भ्रमणका समयमा दुबै पक्षबाट आन्तरिक निर्णयका प्रक्रिया यथासमयमा पूरा भएको अवस्थामा नेपाल गुणस्तर तथा नापतौल विभाग र भारतीय मानक ब्यूरोकाबीच सहयोगसम्बन्धी समझदारीपत्र, भारतीय भूमि हुँदै बुल्क कार्गो नेपालको सीमानासम्म ल्याउने र विशाखापट्नम बन्दरगाहबाट नेपालका नाकासम्म रेल्वे सेवा सन्चालनका लागि दुई देशबीच विद्यमान रेल्वेसेवा सम्झौतालाई संशोधन गर्नेसम्बन्धी पत्रको आदानप्रदान गर्ने कार्य सम्पन्न हुने जनाएको छ ।
‘नेपालका तर्फबाट प्रस्तुत् हुँदैआएका तथा भारतीय पक्षबाट आउने प्रस्तावका सम्बन्धमा नेपालको सर्वोत्तम हित हुनेगरी छलफल एवं समझदारी हुनेछ’–प्रधानमन्त्री दाहालले भने ।
उनले भने–‘मेरो भ्रमणबाट दुई देशबीच विश्वासको अभिबृद्धि हुनुका साथै विगतमा भएका आर्थिक सामाजिक विकास तथा पूर्वाधार निर्माणसम्बन्धी सम्झौता एवं सहमतिलगायत चालु परियोजनाको सफल कार्यान्वयन गर्न एवं सहयोगका नयाँ क्षेत्रको पहिचान गर्नेतर्फ महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छु ।’
जलविद्युत् आयोजनाको अवलोकन
भारत भ्रमणको सिलसिलामा प्रधानमन्त्री दाहालले हिमाञ्चल प्रदेशस्थित नाथपा झाक्री जलविद्युत् आयोजनाको अवलोकन गर्नुका साथै त्यहाँको औद्योगिक उत्पादन एकाइको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री दाहालको भ्रमण दलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सन्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि रहनेछन् ।
प्रधानमन्त्री दाहाल भारतको मैत्रीपूर्ण राजकीय भ्रमण पूरा गरी आगामी असोज २ गते स्वदेश फर्कनेछन् । रासस
प्रतिक्रिया दिनुहोस्