पाटन संग्रहालय र ललितपुर उपमहानगरपालिकाको प्रवेश शुल्क अब छुट्टा–छुट्टै तिर्नु नपर्ने • Image Khabar Image Khabar


पाटन संग्रहालय र ललितपुर उपमहानगरपालिकाको प्रवेश शुल्क अब छुट्टा–छुट्टै तिर्नु नपर्ने


Imagekhabar
३० भाद्र २०७३, बिहीबार ०२:११

पाटन संग्रहालय र ललितपुर उपमहानगरपालिकाको प्रवेश शुल्क अब छुट्टा–छुट्टै तिर्नु नपर्ने

ललितपुर, भदौ २९ । ललितपुरमा पर्यटकहरुले पाटन संग्रहालय र ललितपुर उपमहानगरपालिकाको प्रवेश शुल्क अब छुट्टा–छुट्टै तिर्नु नपर्ने भएको छ ।

उपमहानगरपालिका र पाटन संग्रहालय विकास समितिबीच प्रवेश शुल्क एकद्वाररुपमा संकलन विषयमा समझदारी भएको छ । यो समझदारी असोज १ गतेदेखि लागू हुनेछ ।

समझदारीपत्रमा उपमहानगरपालिकाका कार्यकारी प्रमुख भरतमणी पाण्डे र विकास समितिका कार्यकारी निर्देशक मन्दाकिनी श्रेष्ठले हस्ताक्षर गरे ।

यसअघि, ललितपुर घुम्न सार्क राष्ट्रका पर्यटकहरुले ललितपुर प्रवेश गर्दा र पाटन संग्रहालय अवलोकनका लागि छुट्टा–छुट्टै प्रवेश शुल्क तिर्नुपर्ने अवस्था थियो भने एकद्वार प्रणाली लागू भएपछि सार्क राष्ट्रबाहेकका पर्यटक शुल्क १ हजार रुपैयाँ र सार्क राष्ट्रका पर्यटकका लागि २ सय ५० रुपैयाँ कायम गरिएको छ ।

यो समझदारीले ललितपुर भ्रमणकाक्रममा पाइलापिच्छे शुल्क तिनुपर्ने हैरानीको अवस्थाको अन्त्य गरेको भनाइ उपमहानगरपालिकाका कार्यकारी भरतमणि पाण्डेको रहेको छ ।

उपमहानगरपालिका राजस्व शाखाका प्रमुख डिल्ली शाक्यकाअनुसार समझदारीअनुसार संकलित रकमको ७५ प्रतिशत उपमहानगरपालिका, १५ प्रतिशत संग्रहालय, ५ प्रतिशत दरबार क्षेत्र मर्मत–सम्भार र पर्यटन प्रर्वद्धनका लागि र प्रशासनिक खर्च लागि ५ प्रतिशत छुट्टयाइनेछ ।

सो कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाले संस्कृति, सम्पदा, पर्यटन उद्योगको मुख्य आधार रहेकोले यसको संरक्षणमा राज्य प्रतिबद्ध रहेको बताए ।

यस्तै, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले एकद्वार प्रणाली लागू भएपछि बढाइएको शुल्कअनुसार भौतिक पूर्वाधार, फोहोर र ढलको व्यवस्थापन, सांस्कृतिक सम्पदाको सरंक्षण कार्यलाई चुस्त बनाउनुपर्ने औंल्याए ।

प्रतिक्रिया दिनुहोस्