
काठमाडौं, पुस १ । नेपाल र मलेसियाबीच शनिबार (भोलि) एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण महिला फुटबलका लागि दुबै टिम तयार भएका छन् ।
शुक्रबार खेलअघिको ‘प्रिम्याच कन्फ्रेन्स’मा बोल्दै दुबै टिमका प्रशिक्षकले आफ्नो टिम विजयी हुने जिकिर गरे ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुमार थापाले शनिबारको खेलमा अवसर र चुनौती दुबै रहेको बताए । टिममा नयाँ खेलाडीको वर्चश्व भएपनि यो निर्णय सही सावित हुने उनले बताए ।
नेपाली टिमबाट केही खेलाडीले ‘डेब्यु’ गर्दैछन् । पहिलोपटक राष्ट्रिय टिमको नेतृत्व सम्हाल्ने अवसर पाएकी कप्तान रेणुका नगरकोटीले विगतका तुलनामा योपटक प्रशिक्षण लामो समयदेखि भइरहेकाले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गरिन् ।
मलेसियाका मुख्य प्रशिक्षक मोहम्मद अब्दुल्लाहले टिममा नयाँ खेलाडीहरु भएकाले अनुभवका लागि यो खेल राम्रो अवसर रहेको बताए ।
नेपाल साफ च्याम्पियनसीपमा लगातार तेस्रो संस्करणमा उपविजेता बन्न सफल भएको भन्दै अब्दुल्लाहले केही महिनापछि हुने क्षेत्रीय प्रतियोगिताका लागि यो खेलले फाइदा पुर्याउने विश्वास व्यक्त गरे ।
यसैबीच, खेलको तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोको मैदानमा दिउँसो २ बजे हुने खेल हेर्न भीआइपी पारापिटतर्फ पाँच सय तथा सामान्यतर्फ तीन सय रुपैयाँको टिकट काट्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस्