कतै एक गेडा चामल छैन्, कतै राख्ने ठाउँ छैन « Image Khabar


कतै एक गेडा चामल छैन्, कतै राख्ने ठाउँ छैन


Imagekhabar
९ पुष २०७३, शनिबार १४:३१

बजारमा पाइने चामल र संस्थानमा पाइने चामलको मूल्य एकै भएपछि चामल बिक्री नभएको संस्थानले जनाएको छ । गाउँका खाद्य डिपो भने रित्तै छन् ।

जिल्लाका नायकवाडाको घाट, पजारुको घोगी र दसेराका खाद्य अहिले रित्तै छन् । ढुवानी जिम्मा लिएका ठेकेदारले समयमै डिपोमा चामल नपुर्‍याउँदा यस्तो अवस्था आएको हो ।

गाउँका स्थानीयवासीले संस्थानले बिक्री गर्ने सहुलियतको चामल पाउन सकेका छैनन् ।

सदरमुकाम खलंगामा रहेको संस्थानको गोदाममा बिक्री नहुँदा दुई हजार १७२ क्विन्टल चामल मौज्दात छ । चालू आर्थिक वर्षमा ३०० क्विन्टल चामलमात्र ढुवानी भएको छ ।

चालु आवका लागि स्वीकृत तीन हजार १०० क्विन्टल चामल ढुवानी हुन बाँकी नै रहेको संस्थानले जानकारी दिएको छ ।

सबै स्वीकृत चामल आएमा राख्ने ठाउँकोसमेत समस्या हुने संस्थान प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए । यो आर्थिक वर्षमा जिल्लाका तीन डिपोमा भने चालु आवमा चामल पुग्न सकेको छैन ।

नायकवाडा खाद्य डिपोमा चामल ढुवानी गर्ने जिम्मा लिएका लक्ष्मण निर्माण सेवाका भक्तबहादुर बस्नेतले चालु आवमा तीन क्विन्टलमात्र चामल ढुवानी गरेका छन् ।

नायकवाडामा माग अत्यधिक रहे पनि ठेकेदारले समयमा चामल ढुवानी नगर्दा समस्या भएको स्थानीय प्रेम शाहीले बताए ।

ठेकेदारलाई डिपोमा चामल लिन ताकेता गरिएपनि कतिपयले अटेरी गर्दा समस्या भएको खाद्य संस्थान प्रमुख धर्मबहादुर बस्नेतको भनाइ छ ।

उत्ता दसेरा र पजारु खाद्य डिपोमा खाद्यान्नको अत्यन्त माग भएपनि गत वर्ष ढुवानीको जिम्मा लिएका विकेन्द्र कन्स्ट्रक्सनएन्ड विकेन्द्र सप्लायर्सले तोकिएको दुई हजारमध्ये १०० क्विन्टलमात्र ढुवानी गर्दा स्थानीयवासीले चामल खाना पाएका थिएनन् । यी दुई डिपोका लागि संस्थानको अञ्चल कार्यालय नेपालगन्जले ढुवानी गराउँदै आएको छ ।

चालु आवमा पनि दसेरामा खाद्यान्न ढुवानी जिम्मा लिएको आइडी सप्लायर्स कोहलपुर–४ बाँकेले चामल ढुवानी नगरेको खास संस्थानले जनाएको छ ।

त्यस्तै, पजारुका लागि पहिलोपटक खोलिएको बोलपत्र अस्वीकृत भएपछि पुनः खोलिएको र केही दिनमै ढुवानीकर्ता छनोट हुने अञ्चल कार्यालय नेपालगञ्जका प्रमुख मोतीराज ज्ञवालीले बताए ।

दसेरामा तत्काल चामल ढुवानी गर्न संस्थानले सप्लायर्सलाई ताकेता गरिरहेको उनले जानकारी दिए ।

संस्थानले चारओटै डिपोमा एक–एक हजार क्विन्टलकादरले चामलको कोटा निर्धारण गरेको छ । तर, सदरमुकाममा गत वर्षकै चामल बिक्री नभएपछि चार हजार क्विन्टल कोटाबाट तीन हजार एक सयमा सीमित भएको छ ।

जिल्लाका सबै ठाउँमा यातायात सुविधा नपुगेका कारण यहाँका स्थानीयले भनेको समयमा खाद्यान्न ढुवानी गर्न मुस्किल छ ।

जिल्ला सदरमुकाममा जतिसुकै चामल थन्किएपनि गाउँमा भने सधैं खाद्यान्न अभाव नै हुने गरेको छ ।

सिँचाइयोग्य जमिन कम, वर्षेनि उत्पादनमा आएको गिरावटले गर्दा यो समस्या आएको हो ।

प्रतिक्रिया दिनुहोस्