पाँच सय रुपैयाँको बाजी जित्न मर्स्याङ्दीमा हेलिएका घिमिरे बेपत्ता « Image Khabar


पाँच सय रुपैयाँको बाजी जित्न मर्स्याङ्दीमा हेलिएका घिमिरे बेपत्ता


Imagekhabar
१० पुष २०७३, आईतवार २०:०१

लमजुङ जिल्ला बेँसीसहर नगरपालिका–७ का ४० वर्षीय राजु घिमिरे नदी पार गर्नेक्रममा बेपत्ता भएका हुन् ।
बिहान १० बजे स्थानीय पद्म घिमिरे र राजु घिमिरेबीच पौडिएर नदी पार गर्ने विषयमा बाजी परेको थियो । उनीहरुबीच यदि नदी पार गर्नेले रु ५०० बाजी मार्ने र नदी पार गर्न नसक्नेले रु ५०० दिने गरी बाजी परेको बुझिएको छ ।
बाजीबमोजिम राजु मर्स्याङ्दीमा पौडिन होमिएका थिए । नदीको बीचसम्म पौडिएका घिमिरे त्यसपछि पौडिन नसकेपछि मर्स्याङ्दीले बगाएको हो ।
राजु नदी पार गर्न नसकी बेपत्ता भएपछि उनका साथी पद्म घिमिरेले प्रहरीलाई राजु नदीमा बेपत्ता भएको जानकारी गराएका थिए ।
बेपत्ता घिमिरेको खोजीकार्य भइरहेको र हालसम्म कुनै पत्तो नलागेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा पनि उनीहरु बिहानैदेखि मदिरा सेवन गरी बसेको र नदी पार गर्ने विषयमा दुईजनाबीच बाजी पनि परेको बुझिएको प्रहरीले जनाएको छ । घिमिरे स्थानीय शिक्षकसमेत हुन् । (रासस)

प्रतिक्रिया दिनुहोस्