
फाइल फोटो
जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनले सोमबारसम्म अधिकतम् तापक्रम घट्ने र फाट्टफुट्ट पानी पर्ने जनाएको छ ।
विभागका मौसमविद् सुवास रिमालले भने–‘मौसम बदलीका कारण आइतबार र सोमबार चिसो बढ्छ, मंगलबारमात्र मौसममा सुधार आउने देखिन्छ ।’
काठमाडौँको न्यूनतम् तापक्रममा खासै असर नपरे पनि अधिकतम् तापक्रम घटेर १९.५ सेन्टिग्रेड पुगेको विभागको अनुमान छ ।
पश्चिम क्षेत्रमा भने सोमबारदेखि नै मौसममा सुधार आउने संकेत देखिएको छ ।
हिउँदमा भूमध्यसागरबाट पश्चिमी न्यूनचापीय क्षेत्रको असरले जलवाष्प इरान, अफगानिस्तान, पाकिस्तान, पश्चिम भारत हुँदै नेपालमा बहन्छ ।
जलवाष्पका कारण मुलुकको पश्चिम क्षेत्रमा शनिबार बिहानैदेखि र केन्द्र तथा पूर्वी क्षेत्रमा दिउँसोदेखि मौसम बदली भएको मौसमविद् रिमालले बताए ।
शनिबार उच्च हिमाली क्षेत्रमा हिमपात भएको र राजधानीमा ०.१ मिलिमिटर वर्षा भएको थियो भने अझै फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । रासस
प्रतिक्रिया दिनुहोस्