
इलाका वन कार्यालय रंगपुरनजिकै पर्ने पर्साको गादी गाविस वडा नम्बर–९ बाट प्रहरीले आठ लाख रुपैयाँ मूल्य बराबरको काठ बरामद गरेको हो ।
१२९ क्युफिट काठ बरामद गरेपछि वन कर्मचारीको मिलेमतोमा वन फडानी हुने गरेको खुलासा भएको हो ।
इलाका वन कार्यालयनजिकै अवैध समिल सन्चालन भइरहेको सूचनाको आधारमा खोजी गर्दा ३० थान सालका गोलाइ बरामद गरेको पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार शाहले जानकारी दिए ।
उनले वन कर्मचारीकै मिलेमतोमा पर्साको वन क्षेत्र फडानी गरी भारततर्फ नेपाली काठको तस्करी हुने गरेको दाबी गरे ।
वन कार्यालय नजिकैबाट भारी परिमाणमा काठ बरामद भएको घटनाको अनुसन्धान गर्दै जाँदा इलाका वन कार्यालय रंगपुरमा कार्यरत् जमदार मित्रदेव चौधरीको तस्करसँग साँठगाँठ राहेको तथ्यहरु फेलापरेपछि आवश्यक कारबाहीका लागि पर्साका प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरिएको उपरीक्षक साहले जानकारी दिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले गादीबाट काठ बरामद भएको घटनाक्रमको अनुसन्धानकाक्रममा वन फडानीमा कर्मचारीहरुको सहभागिता रहेको केही तथ्यहरु आएपछि जमदार चौधरीलाई कारबाही गर्न जिल्ला वन कार्यालयलाई निर्देशन गरिएको बताए ।
उनले जिल्ला प्रहरी कार्यालय पर्साले बरामद गरेको काठको परिमाण देख्दा यस क्षेत्रबाट संस्थागतरुपमै वन फडानी हुने गरेको तथ्य प्रकाशमा आएको बताए ।
प्रजिअ घिमिरेको निर्देशनपछि जमदार चौधरीलाई अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा सोमबारै झिकाएको प्रमुख वन अधिकृत चन्द्रदेवलाल कर्णले जानकारी दिए ।
प्रहरीले बरामद गरेको काठ पर्साका प्रमुख जिल्ला अधिकारीको रोहबरमा इलाका वन कार्यालय रंगपुरलाई जिम्मा लगाइएकोे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्