भारतमा माटोको ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु

हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले जानकारी दिए ।
मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् । ‘तीनजनाको शव ढिस्कोबाट निकालिएको छ,’ विष्टले भने, ‘थप एकजनाको शव डोजरको सहायताले निकालिँदैछ ।’
६ जनाको सङ्ख्यामा नेपालीहरु त्यहाँ कार्यरत रहेको भए पनि दुईजना खाना पकाइरहेकाले सकुशल रहेको बताइएको छ ।
भारत सरकारले उक्त बाटो खन्ने कामलाई ठेकेदार कम्पनीमार्फत सडक खनाइरहेको थियो । ‘हामीहरु ठेकेदार कम्पनीमार्फत बाटो खनिरहेका थियौँ,’ विष्टले भने, ‘म यहाँ अर्कै साइडमा थिएँ ।’ (रासस)