२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


धनगढी प्रिमियर लिग क्रिकेटमा ६ टोली, यी हुन् ६ कप्तान


0
Shares

कैलालीको धनगढीमा हुन गइरहेको प्रतियोगितामा सहभागी हुने टोलीहरुलाई विहीबार राजधानीमा कप्तानसहित सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै काठमाडौं गोल्डेन्स, विराटनगर किंग्स, रुपन्देही च्यालेन्जर्स, कन्चनपुर आइकोनिक, टिम चौराहा धनगढी र सीवाईसी अत्तरिया सहभागी हुँदैछन् ।

काठमाडौं गोल्डेन्सको कप्तानी बसन्त रेग्मीले गर्नेछन् भने विराटनगर किंग्सको शरद भेषावकर, रुपन्देही च्यालेन्जर्सका शक्ति गौचन, कन्चनपुर आइकोनिकका विनोद भण्डारी, सीवाइसी अत्तरियाका ज्ञानेन्द्र मल्ल तथा टिम चौराहा धनगढीका कप्तान पारस खड्का रहेका छन् ।

प्रत्येक टोलीका कप्तानले डेढ लाख पारीश्रमिक पाउनेछन् भने अरु खेलाडीहरुको इन्डियन प्रिमियर लिग (आइपीएल)माजस्तै खेलाडीहरुको बोलकबोल गरिनेछ ।

यसका लागि खेलाडीहरुको स्तरअनुसार ५० हजारदेखि २० हजार रुपैयाँसम्म आधार मूल्य तोकिएको छ । आगामी शनिबार राजधानीमा खेलाडीहरुको ‘अक्सन’ हुनेछ ।

ट्वेन्टी–२० ढाँचामा सन्चालन हुने प्रतियोगिताको विजेता टोलीले १५ लाख रुपैयाँ पुरस्कार जित्नेछ भने उपविजेताले ७ लाख रुपैयाँ जित्नेछ ।

प्रतियोगिता आयोजना गर्न कुल १ करोड ६० लाख रुपैयाँ खर्च हुने आयोजकको दाबी छ ।

धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीले यसअघि गर्दै आएका दुई बेग्लाबेग्लै क्रिकेट प्रतियोगिता डीसीएल र एसपीए कपलाई गाभेर यो संस्करणदेखि सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग क्रिकेट आयोजना गर्न लागिएको हो ।