
अतिवादी इस्लामिक स्टेटको कब्जामा रहेको विमानस्थलमा चार घण्टाको आक्रमणपछि इराकी सेनाले पुनः आफ्नो नियन्त्रणमा लिएको हो ।
विमानस्थल नियन्त्रणमा लिएसँगै दोस्रो ठूलो शहर मोसुलबाट आइएसलाई भगाउन सेनालाई सहज हुने बताइएको छ ।
सेनाले आक्रमण गरेपछि विमानस्थलमा ठूलो भिडन्त भएको थियो । त्यस क्रममा आइएसका लडाकुहरुले भित्रि इलाकाबाट विमानस्थलतर्फ मोर्टार आक्रमण गरेका थिए ।
पूर्वी मोसुल भने सरकारी सेनाले गत महिना नै आफ्नो नियन्त्रणमा लिएको थियो । तर यो विमानस्थल मोसुलको पश्चिमी क्षेत्रमा पर्छ । पश्चिम क्षेत्रको ठूलो भूभाग अझै आइएसको नियन्त्रणमा छ ।
यस क्षेत्रमा ठूलो बसोबास रहेकाले सेनालाई कारबाही गर्न भने कठिन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच संयुक्त राष्ट्र संघले मोसुलमा भएको सेना र आइएस लडाकुको भिडन्तका कारण फसेका सर्वसाधारणलाई लिएर चिन्ता व्यक्त गरेको छ ।
मोसुलमा आठ लाख मानिस फसेको आशंका छ । डेढ लाख भन्दा बढी मानिस भने आफ्नो घरबाट भागिसकेको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्