
पोखरा, फागुन १७ । ताप्लेजुङमा बुधबार हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति शुक्रबार पोखरामा अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ ।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा उनको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरिएको हो ।
मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधान एवं रक्षामन्त्रीमन्त्री ईश्वर पोखरेल र गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालको राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिए ।
यस्तै, अन्य मन्त्री, विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता, शुभेच्छुक, आफन्त, सर्वसाधारणलगायतले उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
शुक्रबार बिहान काठमाडौंको टुँडिखेलमा स्व. अधिकारीप्रति श्रद्धाञ्जलि अर्पण गरिएपछि उनको पार्थिव शरीर नेपाली सेनाको हेलिकोप्टरमा राखेर गृहजिल्ला कास्कीको पोखरा ल्याइएको हो ।
अधिकारीको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न प्रदर्शनी केन्द्रमा ठूलो भीड लागेको छ ।
पोखरामा श्रद्धाञ्जलि कार्यक्रम अपराह्न ४ बजेसम्म चल्ने जनाइएको छ ।
राजकीय सम्मानका साथ अन्त्येष्टि
अपराह्न ४ बजेपछि शवयात्रासहित रामघाटस्थित सेती नदीको किनारमा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्त्येष्टि गर्ने कार्यक्रम छ ।
शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म पुग्नेछ ।
केशमुन्डन
यसैबीच, मन्त्री अधिकारीको निधनको शोकमा कास्की अनेरास्ववियुका अध्यक्ष शेखर गौतमको नेतृत्वमा स्थानीय युवाहरुले स्वतःस्फूतरुपमा केशमुन्डन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्