२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


हेलिकप्टर दुर्घटनामा परी निधन भएकाहरुको अन्तिम श्रद्धाञ्जली ३ बजेदेखि टुँडिखेलमा


0
Shares

काठमाडौं । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको शव बिहीबार ३ बजेपछि सैनिक मञ्च टुँडिखेलमा राखिने भएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको पोष्टमार्टमपछि टुँडिखेलमा राखिने भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिबालयको बैठकले उक्त निर्णय गरेको हो ।

त्यस्तैगरी बैठकले देशभरका पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

यस्तै देशभरका पार्टी कार्यालयमा तीन दिनसम्म शोक पुस्तिका राख्ने र फागुन २३ गते केन्द्रीयस्तरमा श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि बैंठकले गरेको छ ।

नेकपाले अपरान्ह ३ बजेपछि हुने श्रद्धाञ्जलीमा सहभागी हुन सबैमा आग्रहसमेत गरेको छ ।

नेकपाले दुर्घटनामा दिवंगत भएका व्यक्तिका परिवारलाई आवश्यक सहयोग गर्न सरकारलाई अनुरोध गरेको छ ।

मन्त्री अधिकारीको अन्त्येष्टि भने फागुन १७ गते उनको गृहनगर पोखरामा हुनेछ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा हिजो ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी,यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा,नेपाल नागरिक उडड्यन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया,प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।