काठमाडाैं । विभिन्न अदालतमा मुद्दा विचाराधीन रहेका दीपक भट्टको मानव अधिकार तथा संविधानप्रदत्त मौलिक हक संरक्षणको माग गर्दै उहाँका बुवा चतुर्भुज भट्टले राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिनुभएको छ ।
चतुर्भुजले शुक्रवार आयोगको पुल्चोकस्थित कार्यालयमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न र छोरालाई सिन्धुपाल्चोक कारागारबाट नख्खु कारागारमा फिर्ता ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिन माग गर्दै निवेदन दिनुभएको हो ।
उहाँले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा दीपकलाई दोषीका रूपमा चित्रण गर्ने, चरित्रहत्या गर्ने र सामाजिक प्रतिष्ठामा आघात पु¥याउने सामग्री प्रकाशित तथा प्रसारित भइरहेको दाबी गर्नुभएको छ ।
विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग फोन सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति उहाँले आपत्ति जनाउनुभएको छ ।
विचाराधीन मुद्दामा न्यायिक प्रक्रिया जारी रहेको अवस्थामा यस्ता सामग्रीले निष्पक्ष न्याय पाउने अधिकारमा अवरोध पुग्न सक्ने उहाँको भनाइ छ । दीपक भट्टलाई गत असोज १७ गते नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा स्थानान्तरण गरिएको थियो । उहाँका बुवा चतुर्भुजले सरुवाको आधार, कारण र निर्णय प्रक्रियाबारे आफूलाई जानकारी नदिइएको बताउनुभयो ।
दीपकविरुद्धका मुद्दा काठमाडौं जिल्ला अदालत, विशेष अदालत तथा उच्च अदालत पाटनमा विचाराधीन रहेको उल्लेख गर्दै उहाँले मुद्दा दायर नभएको जिल्लाको कारागारमा स्थानान्तरण गर्नुको औचित्यमाथि प्रश्न उठाउनुभएको छ । सरुवाले विचाराधीन मुद्दाको न्यायिक प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न सक्ने र परिवारको मानसिक पीडा बढाएको उहाँको दाबी छ ।
उहाँले दीपकलाई नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सार्नुको आधार तथा नख्खु कारागारमा रहँदाको आचरणबारे जानकारी माग गर्दै नख्खु कारागार र कारागार व्यवस्थापन विभागमा समेत निवेदन दिएको तर, हालसम्म जानकारी प्राप्त नभएको बताउनु भयो ।
चतुर्भुज भट्टले भन्नुभयो,‘मेरो छोरा दीपक भट्ट विगत छ महिनादेखि विभिन्न कारागारमा थुनुवाका रूपमा राखिएको छ । उनलाई के कारणले थुनामा राखिएको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन । बिना कारण एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दै ल्याइएको छ ।
अहिले मिडिया ट्रायल गराएर बिना कारण असम्बन्धित व्यक्तिहरू, पूर्वप्रधानन्यायाधीशलगायत अन्य व्यक्तिसँग पनि जोडेर मेरो छोरालाई मात्रै प्रताडित गर्ने, दुःख दिने र बदनाम गर्ने हिसाबले प्रचार गरिएको छ । यसै विषयमा आज म राष्ट्रिय मानव अधिकार आयोगमा आएर निवेदन दिएको छु ।
आयोगबाट यस विषयमा यथोचित कारबाही र सुनुवाइ हुनेछ तथा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइनेछ भन्ने आशा लिएको छु । यस विषयमा राष्ट्रिय मानव अधिकार आयोगबाट सत्यतथ्य छानबिन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइनेछ भन्ने विश्वासका साथ म यहाँ उपस्थित भएको हुँ ।’
उहाँले कारागारबाट फोन गरेकोलगायतका विषयमा प्रकाशित समाचारबारे प्रेस काउन्सिल नेपालमा पनि निवेदन दिएको समेत बताउनु भयो । नेपालको संविधान, प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिता, २०७३ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्