
सप्तरी, फागुन १४ । खडक नगरपालिका–५, खरचुहियामा मंगलबार ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ ।
साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव फेलापरेको सप्तरी प्रहरीले जनाएको छ ।
अनुसन्धानमा सहजता होस् भनेर पूर्व क्षेत्रीय प्रहरी आवासीय मावि, धरानबाट तालिमप्राप्त कुकुर मगाएर प्रहरीले अनुसन्धान थालेको छ ।
सधैं सबेरै उठ्ने गरेका साह दम्पती बिहान ८ बजेसम्म नउठेपछि हेर्न जाँदा दुवैको जलेको अवस्थामा फेलापरेको छिमेकीले बताए ।
छिमेकी सरस्वती चौधरीकाअनुसार दुवैको शरीरका केही भाग र कपडाहरु जलेको तथा कोठा र आँगनमा रगतको टाटा देखिएकाले हत्याको सम्भावना छ ।
साह दम्पतीका जेठा छोरा–बुहारीसहित उदयपुरको गाईघाटमा र कान्छा छोरा–बुहारीसहित धरानमा बसोबास गर्छन् ।
छोरा, बुहारी नाती–नातिनासहित बाहिर बसेकाले साह दम्पतीमात्र घरमा बस्ने गरेका थिए ।
आर्थिकरुपले गाउँका सम्पन्न साह घरकै एक सटरमा धान, गहुँ, मसला पिँध्ने मिल चलाएर बसेका थिए ।
साहले गाउँलेलाई ब्याजमा लाखौं रुपैयाँ ऋणकर्जा दिने गरेको छिमेकीको भनाइ छ ।
मिलनसार स्वभावका साह दम्पतीको गाउँमा कसैसँग झगडा र विवाद नभएको छिमेकी बताउँछन् ।
यता, हत्यारालाई पछ्याउँदै ‘सर्च अपरेसन’मा खटिएको अनुसन्धान टोलीसहितको तालिमप्राप्त कुकुर घटनास्थलभन्दा दुई किलोमिटरको दूरीमा रहेको एउटा पोखरीमा गएर रोकिएको छ ।
हत्यारालाई चाँडै पत्ता लगाउने दाबी गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले अपराधी पत्ता लगाउन कुनै किसिमको लापरबाही नहोस् भनेर सुरुआतदेखि नै तालिमप्राप्त कुकुर र ‘फोरेन्सिक एक्सपर्ट’सहितको टोली खटाइएको बताए । रासस
प्रतिक्रिया दिनुहोस्