
पोखरा, फागुन १३ । थ्रीस्टार क्लब पोखरामा जारी १७औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा सिक्किम युनाइटेडलाई ५–२ ले पराजित गर्दै थ्रीस्टार अन्तिम चारमा पुगेको हो ।
पोखरा रंगशालामा राष्ट्रिय टिमका पूर्वस्ट्राइकर अनिल गुरुङले ह्याट्रिक गरेपछि थ्रीस्टारले शानदार जित निकालेको हो ।
अनिलले खेलको २६औं, ८१औं र ८५औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । २६औं र ८१औं मिनेटमा उनले पेनाल्टीमार्फत् गरेका हुन् ।
यस्तै, विदेशी खेलाडी अजयी मार्टिनले ७०औं मिनेटमा एक गोल गर्दा एक गोल थ्रीस्टारले ५०औं मिनेटमा आत्मघातीरुपमा उपहार पाएको थियो ।
जारी प्रतियोगितामा ह्याट्रिक गर्ने अनिल पहिलो खेलाडी हुन् । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै उनले पाँच हजार रुपैयाँ पाए ।
सिक्किमले ८९औं मिनेटमा एक सान्त्वना गोल फर्काएको थियो । अतिरिक्त समयमा पेनाल्टीमार्फत् उसले अर्को एक गोल थप्यो ।
यसअघिका खेलमा विजयी हुँदै सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेका छन् ।
अन्तिम क्वार्टरफाइनल खेल क्यामरुनको दाउफिन्स फुटबल क्लब र नेपाल पुलिस क्लबबीच हुनेछ ।
प्रतियोगिताको विजेता टिमले ८ लाख र उपविजेता टिमले ४ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्