
काठमाडौं, फागुन १३ । आइसीसी महिला ट्वेन्टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले चीनलाई हराएको छ ।
सोमबार थाइल्यान्डको बैंककमा भएको खेलमा नेपाल ५ रनले विजयी भएको हो ।
७८ रनको चुनौती पछ्याएको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रनमात्र बनाउन सक्यो ।
झाङ मेइले सर्वाधिक ३३ रन बनाएको इनिङ्समा नेपालका सीता रानामगरले ३ तथा कविता कुँवरले १ विकेट लिए । दुई खेलाडी ‘रनआउट’ भए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो ।
काजल श्रेष्ठले १८ रन जोड्दा अलराउन्डर सीताले ११ रन बनाइन् । त्यसैगरी, विन्दु रावलले १० रन बनाइन् । त्यसबाहेक कुनैपनि खेलाडीले दोहोरो योगफल जोड्न सकेनन् ।
प्रतियोगितामा नेपाल पाँचमध्ये चार खेलमा सफलता हासिल गर्दै ८ अंकसहित तेस्रो स्थानमा पुग्न सफल भएको छ ।
यो प्रतियोगिता जित्ने टिममात्र विश्वकपको ग्लोबल छनोटमा पुग्ने भएकाले नेपाल अझै दबाबमा छ ।
आयोजक थाइल्यान्ड ५ खेलबाट १० अंकसहित राम्रो रनरेटका साथ शीर्ष स्थानमा छ । ८ अंकसहित दोस्रो स्थानमा रहेको युएईको नेपालकोभन्दा राम्रो रनरेट छ ।
अब नेपालले कुवेतसँगमात्र खेल खेल्न बाँकी छ । उपाधि जित्न नेपालले यो खेल फराकिलो अन्तरले जितेरमात्र पुग्ने छैन, थाइल्यान्डले पनि युएईसँग झिनो अन्तरको हार व्यहोर्नुपर्ने हुन्छ ।
अन्तिम खेल बुधबार हुनेछन् । बुधबार नेपालले मिहिनेत गरेरमात्र हुने छैन, भाग्यमापनि विश्वास गर्नुपर्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्