२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जारी सिजनको इङ्लिस प्रिमियर लिग सकियो


0
Shares

आइतबार राती भएका अन्तिम चरणका खेलपछि म्यानचेस्टर सिटी र लिभरपुल च्याम्पियन्स लिगका लागि छनोट भएका छन् ।

प्रिमियर लिग च्याम्पियन चेल्सी र दोस्रो स्थानको टोटनह्याम हट्सपर यसअघि नै च्याम्पियन्स लिगका लागि छनोट भइसकेका थिए ।

रातिका खेलपछि आर्सनल भने च्याम्पियन्स लिगमा छनोट हुन सकेन ।

आर्सनलले अन्तिम खेलमा एभर्टनलाई ३-१ ले हराए पनि अंक तालिकामा आर्सनलभन्दा माथि रेहका सबै चारवटा टोली हिजोका खेलमा विजयी भएपछि उसको सम्भावना सकिएको हो ।

राति भएका खेलहरुमा च्याम्पियन चेल्सीले सण्डरल्याण्डलाई ५-१ ले हराउँदा टोटनह्यामले हल सिटीलाई ७-१ ले पराजित गर्‍यो ।

यसैगरी म्यानचेस्टर सिटीले वाट्फोर्डलाई ५-० ले पराजित गर्दा लिभरपुलले मिडिल्सब्रोलाई ३-० ले हरायो ।

सिजनको अन्तिम खेलमा म्यानचेस्टर युनाईटेडले क्रिष्टल प्यालेसलाई २-० ले पराजित गर्‍यो ।

यो सिजनको प्रिमियर लिग चेल्सीले जित्दा हल सिटी, मिडिल्सब्रो र सण्डरल्याण्ड रेलिगेसनमा पर्दै दोस्रो श्रेणीमा झरेका छन् ।