लन्डनमा आतंकवादी हमला, पैदलयात्रुमाथि छुरा प्रहार « Image Khabar


लन्डनमा आतंकवादी हमला, पैदलयात्रुमाथि छुरा प्रहार


Imagekhabar
२१ जेष्ठ २०७४, आईतवार ०७:२५

भ्यानमा आएका तीन जना हतियारधारीले लन्डनब्रिजमा पैदलयात्रुलाई ठक्कर दिँदै अन्धाधुन्ध छुरा प्रहार गरेको अधिकारीहरुले जनाएका छन् । घटनामा ५÷६ जनाको मृत्यु भएको जनाइएको छ । यद्यपि मृतकको संख्याबारे यकिन विवरण सार्वजनिक भइसकेको छैन ।

प्रहरी स्रोतले प्रारम्भमा एकजनाको मृत्यु भएको पुष्टि गरे पनि केही अन्तर्राष्ट्रिय संचारमाध्यमले ५÷६ जनाको मृत्यु भएको विभिन्न स्रोतलाई उद्धृत गर्दै जनाएका छन् । हमलामा कम्तीमा ६ जना घाइते भएका छन् ।

लन्डन प्रहरीले यो घटनालाई आतंककारी आक्रमण भनेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार सडक पेटीमा हिँडिरहेका मानिसलाई लक्षित गरी आतंककारीहरुले सेतो रंगको भ्यान गुडाएका थिए ।

घटनापछि लन्डन ब्रिजमा आवागमनमा रोक लगाइएको छ । प्रहरीले अभियुक्तहरुको खोजी जारी राखेको र अनुसन्धान शुरु गरिएको जनाएको छ ।

यसैबीच लन्डन प्रहरीले आक्रमण भएको ब्रिज नजिकैको बजारमा क्षेत्रमा पनि छुरा हमला भएको र त्यसबारे पनि अनुसन्धान भइरहेको जनाएको छ । घटना भएको स्थान लन्डन रेलवे स्टेसन नजिक पर्छ ।

घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बेलायतकी प्रधानमन्त्री टेरेसा मेले सो घटनालाई आतंकवादी आक्रमणका रुपमा लिइएको बताएकी छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै बेलायत सरकारलाई आतंकवादविरुद्धको लडाईमा हरसम्भव सहयोग गर्न आफू तयार रहेको जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्