एजेन्सी । अमेरिकी सरकारले २ लाख विदेशी नागरिकको व्यापारिक (बी१) र पर्यटक (बी२) भिसा रद्द गर्ने तयारी गरेको छ।
यो कार्य कार्यान्वयन भएमा एकै पटक यति ठूलो संख्यामा भिसा रद्दको पहिलो घटना हुने भएकाे हाे। अमेरिकी विदेश मन्त्रालयले आगामी दिनमा सन् २०१६ देखि २०२६ बीच जारी गरिएका केही बी१ र बी२ भिसा रद्द गर्ने घोषणा गर्न सक्ने जनाइएको छ । प्रस्तावित कारबाही विशेष गरी अमेरिका पुगेपछि शरणका निम्ति आवेदन दिएका वा दिने तयारीमा रहेका व्यक्तिहरूलक्षित हुने भएकाे हाे।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले केही व्यक्तिले छोटो अवधिको भ्रमण वा व्यापारिक प्रयोजनका निम्ति अमेरिका प्रवेश गरेपछि स्थायी रूपमा बस्ने उद्देश्यले शरणका लागि आवेदन दिने गरेका पाइएको बताउनुभएकाे छ। विदेश मन्त्रालयले भिसा रद्द गरिने व्यक्तिको अन्तिम संख्या भने सार्वजनिक गरेको छैन । यो प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने भएकाले प्रभावित व्यक्तिको संख्या परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन् ।
भिसा रद्द हुँदैमा सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट निष्कासन गरिने छैन । तर, शरणका निम्ति आवेदन प्रक्रियामा रहेका व्यक्तिको कानूनी अवस्थामाथि यसको प्रभाव पर्न सक्नेछ। अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डोले पर्यटक वा व्यापारिक भिसामा अमेरिका प्रवेश गरेपछि त्यही माध्यमलाई देशमा बसिरहने उपायका रूपमा प्रयोग गर्दै शरण प्रणालीको दुरुपयोग गर्न नपाइने बताउनुभयाे।
सामान्यतया बी१ भिसा व्यापारिक भ्रमण र बी२ भिसा पर्यटन, पारिवारिक भेटघाट वा उपचारका निम्ति जारी गरिन्छ । अमेरिकी विदेश मन्त्रालयले पछिल्ला १८ महिनामा करिब एक लाख ७५ हजार भिसा रद्द गरिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्