१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


उत्तर कोरियाली जेल र श्रम शिविरमा बसेका विदेशीको यस्तो छ अनुभव


0
Shares

उत्तर कोरियामा विदेशी नागरिकलाई पनि जेल र श्रम शिविरमा राख्ने गरिएको छ । विभिन्न आरोपमा उनीहरुलाई सजाय तोकिएको हुन्छ । यसरी जेल र श्रम शिविरमा बसेका विदेशीहरुलाई शारीरिक र मानसिक यातनाका अतिरिक्त कठिन श्रममा लगाइन्छ ।

उत्तर कोरियाको जेल र श्रम शिविरबाट मुक्त भएका केही विदेशीले त ती दिन फेरि सम्झनसमेत चाहँदैनन् । तर केहीले भने आफ्नो अनुभव विस्तारै प्रकट गर्न थालेका छन् ।

डिसेम्बर २०१२ मा कोरियाली अमेरिकी क्रिश्चियन मिशिनगरीका केनेथ बेलाई उत्तर कोरियाले नियन्त्रणमा लियो । उत्तर कोरियाविरुद्ध शत्रुतापूर्ण गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो ।

उनी कयौं पटक उत्तर कोरिया पुगेका थिए । तर सन् २०१२ मा उनको यात्राका क्रममा उत्तर कोरियाली अधिकारीहरुले उनीसँग सोधपुछ गरे । उनको साथबाट धार्मिक सामाग्रीसहितको एउटा हार्ड डिस्क बरामद भयो ।

उक्त अपराधका लागि उनलाई १५ वर्षको सश्रम कैद सजाय तोकियो । तर स्वास्थ्य खराब भएपछि उनलाई नोभेम्बर २०१४ मा रिहा गरियो ।

केनेथका अनुसार उत्तर कोरियामा भोगेको सजाय जीवनमा कहिल्यै बिर्सन सकिदैंन । हिरासतमा लिएको प्रारम्भिक महिनामा उनलाई बिहान ८ बजेदेखि राति १०÷११ बजेसम्म सोधपुछ गरिन्थ्यो । उनका अनुसार सोधपुछका क्रममा सयौं पानामा विभिन्न अपराध लेखिएको हुन्थ्यो, जसलाई स्वीकार गर्न लगाइन्थ्यो ।

उनले हप्ताको ६ दिन श्रम गर्नु पर्दथ्यो । उनी भन्छन्, ‘ठूला ढुंगा फुटाउनु र कोइला बोक्नु मेरो काम हुन्थ्यो ।’

७ सय ३५ दिन उत्तर कोरियाको कैदमा रहँदा उनको वजन २७ किलो घटेको थियो । वजन कम भएका कारण उनको स्वास्थ्य अवस्था बिग्रियो । कयौं पटक उनलाई उपचारका लागि लगियो । तर ठिक भएन ।

उनी भन्छन्, ‘मैले त्यहाँ आफूलाई माकुराको जालोमा फसेको एउटा किराजस्तै ठानेको थिएँ, जहाँबाट निस्कन सम्भव छैन ।’

दक्षिण कोरियाली मूलका अमेरिकी नागरिक केनेथ खराब स्वास्थ्यकै कारण रिहा भए । किनकि विदेशी नागरिक आफ्नो जेलमा मरेको खण्डमा अन्तर्राष्ट्रियस्तरमा त्यसले प्रतिकुल अवस्था निम्त्याउन सक्ने आँकलन गरेर उत्तर कोरियाले उनलाई रिहा गरेको थियो ।

६२ वर्षीय किम डोंग चुल उत्तर कोरियामा पक्राउ गरिएका तीन अमेरिकीमध्ये एक हुन् । उनलाई पनि उत्तर कोरियाले खराब स्वास्थ्यका कारण रिहा गरेको थियो । श्रम शिविरमा लगातार काम गरेपछि खराब स्वास्थ्यका कारण उनलाई रिहा गरिएको थियो ।

उत्तर कोरियाली नागरिकलाई भने जेल र श्रम शिविरमा मृत्यु नहुन्जेलसम्म काममा लगाइने गरिन्छ । उत्तर कोरियाली जेलबाट रिहा भएका विदेशीहरुले दिएको जानकारीअनुसार कयौंलाई त मृत्युअघिसम्म आफ्नो लागि चिहानको खाल्डोसमेत खन्न लगाइन्छ । (एजेन्सी)