२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पत्रकार महासंघको महाधिवेशन सुरु, महासंघलाई अझ बढी मर्यादित बनाउन प्रधानमन्त्रीको सुझाव


0
Shares

महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्राप्त उपलब्धीको जगेर्ना गर्न पत्रकारिता जगतको ठूलो भूमिका हुने बताए । उनले पत्रकारिता क्षेत्रलाई अझ बढी मर्यादित र व्यवसायिक बनाउन सुझाव दिए ।

प्रधानमन्त्री देउवाले चौथो अंगका रुपमा स्थापित सञ्चार माध्यमले लोकतन्त्रको स्थायित्व र राजनीतिक दलहरुलाई समेत मार्गदर्शन गर्नसक्ने बताए ।

कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आमसञ्चार जगतका हक हितका लागि सरकार हातेमालो गर्न तयार रहेको बताए । उनले स्वतन्त्र र मर्यादित पत्रकारिताले मात्रै समाजलाई सही मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले महासंघले कुनै पनि आग्रह र पूर्वाग्रह नराखी स्वतन्त्र रुपमा पत्रकारको हक हितका लागि निरन्तर काम गर्दै जानुपर्नेमा जोड दिए ।

कार्यक्रममा यस वर्षको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार विजयकुमार पाण्डे र ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भैरव रिसाललाई प्रदान गरिएको थियो ।

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनमा देश÷विदेशबाट गरी १ हजार ५ सय १६ जना प्रतिनिधि सहभागी छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सूची अनुसार महाधिवेशनमा स्वदेशबाट १ हजार ५ सय ८ र प्रवासबाट ८ जना मतदाता सहभागी छन् ।

नयाँ नेतृत्वका लागि हरेक तीन/तीन वर्षमा हुने महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमितिसमेत चुन्ने छ । महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष–२ महासचिव–१, सचिव–६ र कोषाध्यक्षसहित ४५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।

महासंघको नयाँ नेतृत्वका लागि उम्मेदवार बन्न चाहनेले आजै उम्मेदवारी दर्ता गराएका छन् । महासंघको नयाँ नेतृत्वका लागि भोलि बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । मतगणना मतदान सकिएलगत्तै गरिने छ ।

नेपाल पत्रकार महासंघको महाधिवेशनमा यसपटक कांग्रेसनिकट प्रेस युनियन र माओवादी केन्द्रनिकट प्रेस सेन्टरबीच तालमेल भएको छ । यो गठबन्धनबाट सभापतिमा गोविन्द आचार्यले उम्मेदवारी दिएका छन् । एमालेनिकट प्रेस चौतारीले तीर्थ कोइरालालाई उम्मेदवार बनाएको छ ।