नेपाल अन्डा उत्पादक संघले दिएको जानकारीअनुसार एक क्रेट (३० ओटा) ठूलो अन्डाको फार्मबाट किसानले बिक्री गर्ने मूल्य रु ३३० कायम गरिएको छ ।
मध्यम आकारको अन्डाको खरिद मूल्य प्रतिक्रेट रु २७० कायम गरिएको संघका अध्यक्ष शिवराम केसीले जानकारी दिए । खरिद मूल्यमा रु पाँच बढी लिएर बिक्री गर्ने चलन छ ।
उपभोक्ताले अन्डालाई बढी नै मूल्य तिरे पनि किसानले केही महिनायता निरन्तर कम मूल्य पाउँदै आएका थिए ।
अध्यक्ष केसीकाअनुसार चार महिनाअघि ठूलो अन्डाको खरिद मूल्य प्रतिक्रेट रु ३६० सम्म थियो भने मझौला अन्डाको किसानले प्रतिक्रेट रु ३३० मूल्य पाएका थिए ।
काठमाडौंबाट सर्वसधारण बाहिरिनु, सोह्रश्राद्धका कारण खपत कम हुनु, पहाडी क्षेत्रमा अन्डा पुर्याउन नसक्नुलगायतका कारण माग घटेसँगै अन्डाको मूल्य समायोजन गरिएको हो । दसैंको पूर्णिमापछि पुनः मूल्यवृद्धि हुने केसीले बताए ।
लागत मूल्य बढ्ने र अन्डाको मूल्य घट्दा कृषक चिन्तित बनेका छन् । लेयर्स कुखुराको चल्लाको मूल्य प्रतिगोटा रु १७० पुगेको छ ।
दाना, औषधि, मजदुर, ढुवानीलगायतको मूल्य बढेकाले अन्डाको हालको मूल्यले लागत धान्न मुस्किल पर्ने संघका महासचिव त्रिलोचन कँडेलले बताए ।
उपभोक्ता मूल्य प्रतिगोटा रु १४ रहेको छ नेपालमा हाल दैनिक २० लाख गोटासम्म अन्डा उत्पादन हुन्छ ।
चार वर्षअघि नेपालमा दैनिक २५ लाख गोटासम्म अन्डा उत्पादन हुने गरेको संघका अध्यक्ष केसीले बताए ।
कुखुरामा देखिने घातक रोग बर्डफ्लुको प्रकोपले किसान विस्थापित हुँदा अन्डा उत्पादन घट्दै गएको हो ।
जमिन खन्डीकरण हुँदै जानु र अन्य रोगको प्रकोप बढ्नुले कुखुरा पाल्ने किसानको संख्या घट्दै गएको छ । रासस









प्रतिक्रिया दिनुहोस्