
आइतबार ‘सशस्त्र प्रहरी बरिष्ठ अधिकृत तथा तालिम सम्मेलन २०७४’ उदघाटन गर्दै मन्त्री शर्माले मुलुक समृद्धि र आर्थिक विकासको चरणमा प्रवेश गरेकाले यस दिशामा आइपर्ने चुनौती सामना गर्न सुरक्षा निकायसमेत सचेत रहनुपर्ने बताए ।
उनले सुरक्षा निकायका कमाण्डरहरुलाई फौजमा भर्ती हुनुपूर्व आफ्नो परिवार, गाउँ, टोल, समाजमा रहँदाका समस्या, फौजमा भर्ती हुन आउँदा र तालिम गर्दाका आफ्ना अनुभव, काम सुरु गर्दाका अनुभूति नबिर्सन पनि सुझाव दिए । यी सबै अनुभूतिलाई आत्मसात गरेमा मात्र कुनै पनि कमाण्डर सफल बन्ने उनको भनाइ थियो ।
गृहमन्त्री शर्माले सशस्त्र प्रहरी बल नेपालले मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यदेखि विपद् व्यवस्थापन, सीमा तथा औद्योगिक क्षेत्रको सुरक्षा लगायत राज्यले सुम्पेको कार्यादेश र उद्देश्यमा आधारित रहि जनता र राष्ट्रप्रति उत्तरदायी भएर महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
उनले कार्यक्षेत्रमा उत्पन्न समस्या र त्यसको समाधान गर्दा प्राप्त ज्ञान र अनुभवलाई केन्द्रिकृत गर्दै आगामी रणनीति बनाउन सम्मेलनले महत्वपूर्ण उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गर्दै सेवा प्रवेशको सुरुवाती चरणदेखिका अनुभूति तथा सामाजिक स्थिति एवं संगठनका सवै तहका अधिकृत जवानहरुको विचार र भावनालाई समेटेर अघि बढेमा सम्मेलनले लक्षित सफलता प्राप्त गर्ने उल्लेख गरे ।
संघीय संरचनाबमोजिम मुलुक अगाडि बढिरहेको चर्चा गर्दै गृहमन्त्री शर्माले सशस्त्र प्रहरी बल नेपालले आगामी दिनमा समेत आफ्नो दायित्व निर्वाहमा उत्कृष्ट योगदान पुर्याउने उल्लेख गरे ।
उनले तराईका बाढीपीडित नागरिको उद्धार तथा स्थानीय तहको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न र संयुक्त राष्ट्रसंघीय मिसनमा सशस्त्र प्रहरी बल नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी निर्वाचनलाई शान्तिपूर्ण एवं निष्पक्ष बनाउन त्यही स्तरमा दायित्व निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठले धन्यवाद ज्ञापनको क्रममा सुरक्षा चुनौती र सशस्त्र प्रहरी बल नेपालको भूमिका, संगठनमा संचालित तालिम लगायतका विविध विषयहरुमा विस्तृत अन्तरक्रिया एवं छलफल गरी ठोस कार्याेजनाको साथ तार्किक र समयसापेक्ष निष्कर्षमा पुग्न सम्मेलन सफल रहने उल्लेख गरे ।
उनले बदलिदो परिवेशमा सशस्त्र प्रहरी बल नेपालको भावी कार्यदिशा तय गर्न समेत वरिष्ठ अधिकृत तथा तालिम सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै शान्ति सुरक्षा एवं मानविय सेवामा अझै कर्तव्यनिष्ठ र स्पष्ट रहि राज्य प्रदत्त जिम्मेवारीहरुलाई व्यावसायीक ढंगबाट सम्पादन गर्न समेत सम्मेलन उपलब्धिमूलक रहने विश्वास व्यक्त गरे ।
गृह प्रशासन सुधार मार्गचित्र २०७४ को सफल कार्यान्वयनबाट सशस्त्र प्रहरी बल नेपालको विशिष्टिकृत एवं आधुनिकिकरणमा टेवा पुग्नुका साथै संगठन अझै सवल र सुदृढ रुपमा विकास हुने उल्लेख गर्दै सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले संगठनको व्यावसायीकता, क्षमता अभिबृद्धि र सांगठानिक विस्तारका लागि मजकुर मन्त्रालयबाट निरन्तर सद्भाव र निर्देशनको अपेक्षा संगठनले गरिरहेको उल्लेख गरे ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रेम कुमार शाहीले स्वागत मन्तव्य व्यक्त गर्दै संगठनको कामकारवाहीलाई कसरी अझै परिणामुखी र प्रभावकारी बनाउने तथा परिवर्तित समयअनुसारको तालिम रणनीति, सुरक्षा चुनौती एवं संघीयतामा सशस्त्र प्रहरी बल नेपालको भूमिका लगायतका विविध विषयमा नीति निर्माण एवं कार्यान्वयनका लागि सम्मेलन उपयोगी रहने बताए ।
कार्यक्रममा गृह राज्यमन्त्री श्याम कुमार श्रेष्ठ, गृहसचिव लोकदर्शन रेग्मी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु सनत कुमार बस्नेत, किशोर कुमार लामा, शैलेन्द्र कुमार श्रेष्ठ र दुर्ज कुमार राई लगायत नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका बरिष्ठ अधिकृत एवं विभिन्न क्षेत्रका विज्ञहरुको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्