२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


घाँटीमा प्वाल परेको गैंडा भेटियो


0
Shares

अन्दाजी १५/२० वर्षको जस्तो देखिने पोथी गैंडा घाइते अवस्थामा भेटिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार अर्काे गैंडाले हानेर घाँटीमा प्वाल परेको अवस्थामा गैंडा देखिएकाले उपचार थालिएको छ ।

अर्काे गैंडाको सिङले घाँटीमा उनेको जस्तो देखिएको बताउँदै घाउमा पिप बगिरहेको अवस्थामा केही दिनअघि सो गैंडा फेला पारिएको उनले बताए । ‘निकुञ्जका चिकित्सक र पशु प्राविधिज्ञहरुको टोलीले उपचार थालेका छन’, कँडेलले भने, ‘उपचार सफल हुने आशा छ ।’

उक्त गैंडाको घाँटीसँगै करङ र खुट्टामा समेत चोट देखिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन् । घाँटीको श्वासनलीसम्मै असर परेको छ । गैंडालाई बेहोस बनाई ‘एन्टिबायोटिक, भिटामिन र मिनरल’ दिइएको छ । घाइते भएपछि आहालमा मात्रै बस्दै आएको गैँडा अहिले हिँडडुल गर्न थालेको जनाइएको छ ।

निकुञ्जको सेना र बाघमारा मध्यवर्ती सामुदायिक वनका कर्मचारीले गैंडाको निगरानी गरिरहेका छन् ।

यसअघि गएको भदौ अन्तिम साता चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कुमरोज सामुदायिक वनमा भाले गैंडाले हानेर अर्काे भाले गैंडाको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक बताउँछन् ।

अघिल्लो वर्ष पनि गैंडाले हानेर गैँडाको मृत्यु भएको थियो । चितवन निकुञ्जमा ६०५ ओटा दुर्लभ एकसिंगे गैंडा रहेको तथ्यांक छ ।

अघिल्लो वर्ष निकुञ्जमा विभिन्न कारणले २५ गैंडा मरेको थियो । चालु आवमा पनि नौओटा गैंडा विभिन्न कारणले मरिसकेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन् । रासस