Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


सोलुखुम्बुमा विश्वकै उच्च स्थानमा झोलुङ्गे पुल निर्माण


0
Shares

सन्तोष कुमार राउत, सोलुखुम्बु । सोलुखुम्बुको प्रमुख पर्यटकीय क्षेत्र खुम्बुमा समुद्री सतहबाट चार हजार ६२० मिटरको उचाइमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ थुक्लामा २०६ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो। गाउँपालिकाका अनुसार यो संसारकै उच्च स्थानमा रहेको सबैभन्दा लामो झोलुङ्गे पुल हो।

पुलको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले पुल सञ्चालनमा आएसँगै खुम्बुको पर्यटन उद्योग थप सहज हुने बताउनुभयो।

सगरमाथा आधार शिविर जाने प्रमुख मार्गमा पर्ने थुक्लामा गाउँपालिकाको पाँच करोड पाँच लाख ९५ हजार रुपैयाँ लागतमा पुल निर्माण गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमका अनुसार पुल निर्माण भएपछि थुक्ला खोला पार गर्न यात्रुले यसअघि भोग्दै आएको जोखिमपूर्ण यात्राको अन्त्य भएको छ। यसअघि खोला पार गर्न करिब ३० मिनेटसम्म जोखिमपूर्ण बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता थियो।

नयाँ पुल सञ्चालनमा आएपछि सगरमाथा आधार शिविर जाने पर्यटक तथा स्थानीयवासीको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।