तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको समग्र भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ। आयोजनाका तीनवटै प्याकेजअन्तर्गतका निर्माण कार्यले गति लिइरहेका छन्।
आयोजनाको प्याकेज–१ अन्तर्गत मुख्य बाँध निर्माणको काम ६३ प्रतिशत सम्पन्न भएको छ। प्याकेज–२ अन्तर्गत विद्युत्गृह तथा मुख्य सुरुङ निर्माणको काम ७९ प्रतिशत र प्याकेज–३ अन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको काम ८२ प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो।
१४० मिटर अग्लो मुख्य बाँधमा हालसम्म पाँच लाख सात हजार घनमिटरभन्दा बढी कङ्क्रिट राखिएको छ। यस्तै, मुख्य सुरुङको करिब ९९ प्रतिशत कङ्क्रिट लाइनिङ सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।
आयोजनाअन्तर्गत निर्माण भइरहेको ३३ किलोमिटर लामो प्रसारण लाइनका ९४ टावरमध्ये ८० वटा टावर निर्माण सम्पन्न भएका छन्। वन क्षेत्रमा काम गर्ने अनुमति पाएसँगै प्रसारण लाइन निर्माणले थप गति लिएको आयोजनाले जनाएको छ।
आयोजना निर्माणको काम अघि बढेसँगै निर्धारित समयमै निर्माण सम्पन्न गर्ने लक्ष्यतर्फ आयोजना अगाडि बढिरहेको आयोजनाले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्