
प्रधानमन्त्री निवास बालुवाटारमा ईमेज ग्रुप अफ कम्पनीजका अध्यक्ष आरके मानन्धरसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई राहत कोषमा जम्मा भएको ४० लाख १ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
सो अवसरमा अध्यक्ष मानन्धरले ईमेज च्यानलले सनराईज बैंक, ग्लोबल आईएमइ बैंक र सगरमाथा इन्सोरेन्सको सहभागिता उक्त रकम जम्मा भएको भन्दै बाढी पहिरो पीडितका लागि आफूहरुले हरेक वर्ष सहयोग गर्दै आईरहेको जानकारी दिए ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले राहत कोष स्थापना गरी बाढी पीडित जनतालाई सहयोग गरेकोमा ईमेज च्यानललाई धन्यवाद दिँदै राहत सही ढंगबाट सदुपयोग हुने बताए ।
हस्तान्तरण कार्यक्रममा सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगड, कार्यकारी निर्देशक रत्नराज बज्राचार्य, सगरमाथा इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, डेपुटी प्रमुख कार्यकारी अधिकृत सुबोधलाल श्रेष्ठ र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालको प्रतिनिधित्व गर्दै प्रमुख बजार व्यवस्थापक गणेश अवस्थी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन शर्माका साथै ईमेज च्यानलका उपाध्यक्षहरु इन्दिरा मानन्धर र मोहनचन्द्र सिंह, समाचार प्रमुख डा. महेन्द्र बिष्ट, बजार व्यवस्थापन निर्देशक रन्जन अधिकारीलगायत सहभागी थिए ।
कोषमा सनराईज बैंकले १५ लाख, ग्लोबल आईएमई बैंकले ११ लाख र सगरमाथा इन्सोरेन्सले १० लाख जम्मा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्