
बाँफिकोट डाँडामा खानेपानीसहितको सिंचाई सुविधा पुगेपछि गाउँलेमा खुसीयाली छाएको हो । यहाँ एकैसाथ सिंचाई गर्न मिल्ने गरी खानेपानी आयोजना सञ्चालनमा आएको हो ।
खानेपानी आयोजना सञ्चालनमा आएसँगै पानीका लागि हरेक दिन बिहान–बेलुका घण्टौंसम्म पालो कुर्नुपर्ने समस्या अन्त्य भएको छ भने एक घण्टा दुरीबाट पानी ल्याउनुपर्ने बाध्यता पनि टरेको छ ।
एकाएक घर आँगनमै सिंचाईसहितको खानेपानी पुगेपछि हाल बाँफिकोटबासी खुशी भएका छन् । सिँचाई–खानेपानी आयोजनाको साढे ५ करोड रुपैयाँको लागतमा कालाखोला दोमई सिंचाई जलउपभोक्ता समितिले गत मंसिरबाट काम सुरु गरेर बाँफिकोट डाँडामा केही दिनअघि मात्र पानी पुर्याएको हो ।
यसअघि खानेपानीको सधैं हाहाकार हुने बाँफिकोटमा साढे ६ किलोमिटर टाढा रहेको मुहानबाट सिंचाईका लागि समेत पुग्ने गरी पानी पुर्याइएको हो । २०४७ सालमै खानेपानी तथा सिंचाईका लागि यो आयोजनाको सर्वे गरिएको थियो । तर काम भने हुन सकेको थिएन ।
वर्षौंसम्मको कसरतपछि २ सय ५० भन्दा बढी घरधुरीलाई पुग्ने गरी बाँफिकोट डाँडामा सिंचाई गर्न मिल्ने खानेपानी पुगेसँगै स्थानीय दंग परेका छन् ।
प्रतिक्रिया दिनुहोस्