
काठमाडौं, पुस १९ । ‘सस्तो मूल्यमा सुन दिन्छु’ भनी नक्कली सुन दिइ रु ४० लाख ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं, टोखा नगरपालिका बस्ने सुनसरीका पवन विक, धनुषा, जनकपुर नगरपालिकाका मनिष ढुंगाना, काठमाडौं, काँडाघारी बस्ने सर्लाहीका विवेक दनुवार, सर्लाही, लालबन्दीका रोहित मगर र पूर्णबहादुर पुलामी छन् ।
यसैगरी, काठमाडौं, बौद्ध बस्ने धनकुटाका शलिना शर्मा र संगीता राई, काठमाडौं, बौद्ध बस्ने पर्साका सन्तोषकुमार लामा, काठमाडौं, तारकेश्वर नगरपालिका बस्ने रौतहटका समीर लामा, काभ्रेपलाञ्चोकका मनोज लामा, बाराका सुरेश राई र निजगढका सागर राईलाईसमेत पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले बिहीबार जानकारी दिएको छ ।
उनीहरुले एक किलो नक्कली सुन दिइ उक्त रकम ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको प्रहरी टोलीले विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो ।
सो घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्