Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


पहिलो प्रशिक्षणमै उपाधि


0
Shares

काठमाडौं, पुस १४ । पहिलोपटक ‘ए’ डिभिजन क्लबको प्रशिक्षक बनेका सुमन श्रेष्ठ पहिलो प्रशिक्षणमै उपाधि जित्न सफल भएका छन् ।

सन् २००४ देखि प्रशिक्षक भएर काम गरे पनि श्रेष्ठले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यसअघि प्रशिक्षण गरेका थिएनन् ।

बिहीबार मनाङ–मर्स्याङ्दी क्लबलाई दुई खेलअगावै लिग च्याम्पियन बनाएपछि अहिले श्रेष्ठको चर्चा बढेको छ ।

‘ए लेभल’को लाइसेन्सप्राप्त प्रशिक्षक श्रेष्ठ सहिद स्मारक ‘ए’ डिभिजन लिगको सुरुआती खेलमा गुमनामजस्तै थिए ।

लिगमा मनाङले लगातार जित निकालेपछि श्रेष्ठ सबैको नजरमा पर्न सफल भए ।

पहिलोपटक ‘ए’ डिभिजन क्लबको प्रशिक्षक बनेका श्रेष्ठले बिहीबार मनाङलाई दुई खेलअघि च्याम्पियन बनाउन सफल भए ।

लिग जितेपछि उनले क्लबको लक्ष्य पूरा भएको प्रतिक्रिया दिएका छन् ।

श्रेष्ठले मनाङलाई उपाधिमात्र जिताएनन्, ६४ वर्षे लिग इतिहासमा लगातार ११ खेल जित्ने पहिलो प्रशिक्षक र टोलीको इतिहाससमेत कायम गरेका छन् । उपाधि जितिसकेको मनाङले अब जारी लिगमा दुई खेल खेल्न बाँकी छ ।

‘हाम्रो अथक मिहिनेतले दुई खेलअगावै लिग विजेता बन्न सफल भयौं’– उनले भने–‘लिगभन्दा अगाडि राम्रो तयारी पनि गर्न पाएका थिएनौं । हामी सीधै सिक्किमको गभर्नस कप खेल्न गयौं । सिक्किममा च्याम्पियन बनेपछि हाम्रो टोलीको ‘टिम वर्क’ राम्रो बन्दै गयो ।’

पहिलोपटक ‘ए’ डिभिजन लिगको प्रशिक्षक बन्दा सोचेकोभन्दा बढी दबाब महसुस गरको बताउँदै उनले जारी लिगबाट आफूलाई धेरै कुरा सिक्ने मौका मिलेको प्रतिक्रिया दिए ।

टोलीमा रहेका विदेशी खेलाडीका कारण पनि लिग जित्न ठूलो सहयोग पुगेको उल्लेख गर्दै उनले राष्ट्रिय टोलीका ६ जना खेलाडी क्लबमा हुनु अझ बलियो पक्ष रहेको बताए ।

एन्फाबाट सन् २००४ मा प्रशिक्षककारुपमा काम थालेका उनले सुरुआतमा धनकुटामा प्रशिक्षकको काम गरेका थिए ।

त्यसपछि त्रिभुवन आर्मी क्लबको क्षेत्रीय टोलीको प्रशिक्षक हुँदै ‘ए’ डिभिजन क्लब मनाङको प्रशिक्षक बनेका हुन् । रासस