
गंगा नदीमा ढल मिसिएका छन्, फोहोर तथा शव फाल्ने गरिएको छ । तर, पनि त्यसको पानीको प्रभावकारिता जस्ताको त्यस्तै छ ।
खासमा गंगाको पानी कहिल्यै नबिग्रिनुको कारण भाइरस हो । त्यसमा केही यस्ता भाइरस पाइन्छन् जसले पानीलाई कुहिन दिदैनन् ।
सन् १८९० को दशकमा प्रसिद्ध ब्रिटिश वैज्ञानिक अर्नेष्ट ह्यान्किनले गंगा नदीको पानीबारे अनुसन्धान गरिरहेका थिए । त्यसबेला हैजाको महामारी फैलिएको थियो । मान्छेहरुले शव गंगा नदीमै फालिरहेका थिए ।
गंगा नदीमा नुहाउने मानिसहरु पनि हैजाको शिकार होलान् भन्ने डर ह्यान्किनमा थियो तर त्यस्तो भइरहेको थिएन । ह्यान्किन आश्चर्यमा थिए किनकि युरोपमा दूषित पानी खाँदा मान्छेहरु बिरामी भएको उनले देखेका थिए । तर, गंगा नदीको पानीको प्रभाव देखेर उनी चकित थिए ।
गंगा नदीको पानीमाथिको ह्यान्किनको अनुसन्धानलाई २० वर्षपछि एक फ्रान्सेली वैज्ञानिकले अगाडि बढाए । ती वैज्ञानिकले थप अनुसन्धान गरेपछि गंगाको पानीमा पाइने भाइरसले हैजा फैलाउने ब्याक्टेरियाभित्र छिरेर नष्ट गरिरहेको पत्ता लगाए ।
तिनै भाइरस गंगा नदीको पानीलाई शुद्ध बनाइराख्न जिम्मेवार थिए र त्यसैकारणले गंगा नदीमा नुहाउनेहरुमा हैजा फैलिरहेको थिएन । त्यसको अर्थ ब्याक्टेरियामाथि राज गर्ने यी भाइरसहरु मानिसका लागि निकै सहयोगी साबित हुन सक्छन् भन्ने थियो ।
ती भाइरसलाई आजकल ‘निन्जा भाइरस’ भनेर चिनिन्छ अर्थात् ती भाइरस जसले ब्याक्टेरियालाई मारिदिन्छन् । आजभन्दा करिब १०० वर्ष पहिले चिकित्सा जगतमा ‘एन्टिबायोटिक’का कारण एउटा क्रान्ति भएको थियो ।
चोटपटक, घाउ वा कतिपय रोगका कारण मरिरहेका मानिसहरुका लागि ‘एन्टिबायोटिक’ वरदान साबित भएको थियो । ‘एन्टिबायोटिक’को मद्दतले कैयौं रोगमाथि नियन्त्रण गर्न सकियो । तर, अहिले आएर कतिपय ‘ब्याक्टेरिया’माथि ‘एन्टिबायोटिक’ले असर गर्न छाडिसकेको छ ।
विश्वमा सयौं हजार मानिसले त्यस्ता ब्याक्टेरियाका कारण ज्यान गुमाउनुपरेको छ ।
सन् २०१४ को एउटा अध्ययन प्रतिवेदनअनुसार सन् २०५० सम्ममा ‘एन्टिबायोटिक’को असर यति कम भइसक्नेछ कि करिव एक करोड मानिस त्यस्ता ‘ब्याक्टेरिया’का कारण मृत्युको शिकार हुनेछन् । अहिले क्यान्सरका कारण त्यति संख्यामा मानिसले ज्यान गुमाउने गरेका छन् ।
यदि ‘एन्टिबायोटिक’को असर कम हुँदै गयो भने सामान्य चोटपटकबाट पनि मानिसहरुले ज्यान गुमाउन थाल्नेछन् जस्तो कि १८ औं र १९ औं शताब्दीमा हुने गर्दथ्यो । युद्धमा घाइते हुने धेरै मानिसको मृत्यु हुन थाल्नेछ ।
यस्तो अवस्थामा गंगा नदीमा पाइने ‘भाइरस’हरु काम लाग्न सक्छन् । त्यस्ता भाइरस प्रकृतिमा ठूलो संख्यामा पाइन्छन् । पृथ्वीमा जति मानव छन्, त्यति संख्यामा एक ग्राम माटोमा भाइरस पाइन्छन् । त्यसमध्ये कतिपय भाइरस यस्ता छन् जसले आक्रमण गरेर ‘ब्याक्टेरिया’लाई नष्ट गरिदिन्छन् ।
यस्ता भाइरसहरुको सबैभन्दा ठूलो विशेषता भनेको उनीहरुले सबैखाले ‘ब्याक्टेरिया’लाई चाहिँ निशाना बनाउंदैनन् । तिनीहरुले खास किसिमका ‘ब्याक्टेरिया’माथि मात्रै आक्रमण गर्छन् । यस्ता ‘भाइरस’हरु मान्छेलाई निकै उपयोगी साबित हुन सक्छन् । तिनीहरु ‘एन्टिबायोटिक’को विकल्प हुन सक्छन् ।
न्युजिल्यान्डको म्यासी विश्वविद्यालयकी हिथर हेन्ड्रिक्शनले ‘निन्जा भाइरस’माथि अनुसन्धान गरिरहेकी छन् । उनी भन्छिन्, ‘एन्टिबायोटिकको प्रतिरोध गर्ने ब्याक्टेरियाको खतरा बढ्दै गएको छ । हामी एन्टिबायोटिक आउनुअघिको समयतर्फ फर्किंदैछौँ ।’
हेन्ड्रिक्शन थप्छिन्न्, ‘यदि यस्तो अवस्थाबाट हामी जोगिनुछ भने निन्जा भाइरसमाथिको कामलाई अगाडि बढाउनुपर्छ ।’
आफ्ना विद्यार्थीहरुसँग मिलेर उनले ‘ब्याक्टेरिया’लाई नष्ट पार्ने भाइरसहरुको सूची तयार पारिरहेकी छन् । यी भाइरस निकै साधारण हुन्छन् जो प्रोटिनबाट मात्र बनेका हुन्छन् । जब ती ‘भाइरस’हरुले ‘ब्याक्टेरिया’माथि आक्रमण गर्छन् तब तिनीहरुका ‘डीएनए’ सखाप पारिदिन्छन् र आफ्नो संख्या बढाउन थाल्छन् ।
अन्ततः ‘ब्याक्टेरिया’मा विस्फोट भएर तिनीहरुको अन्त्य हुन्छ । त्यस्ता ‘भाइरस’ले ‘ब्याक्टेरिया’का खास नस्ललाई निशाना बनाउँछन् । जबकि ‘एन्टिबायोटिक’ अणु बम जस्तै हो । त्यसले निशाना बनाउने ‘ब्याक्टेरिया एन्टिबायोटिक’बाटै मर्छन् ।
हाम्रो शरीरभित्र हुने केही राम्रा कीटाणु पनि एन्टिबायोटिकबाट मर्न पुग्छन् । तर, ‘निन्जा भाइरस’ले रोग फैलाउने ‘ब्याक्टेरिया’लाई मात्रै नष्ट पार्नेछन् । उसो त पश्चिमा मुलुकमा त्यसमाथि भइरहेका अनुसन्धान नयाँ हुन् तर पूर्वी युरोपेली देशले लामो समयदेखि भाइरसको सहयोगले कतिपय रोगहरुको उपचार गर्दै आएका छन् ।
उनीहरुका अनुसन्धान अंग्रेजीमा नछापिएकाले बाँकी दुनियाँलाई त्यसबारे थाहा हुनसकेको थिएन । हेन्ड्रिक्शन भन्छिन्, ‘जर्जिया, रुस र पोल्यान्डमा वैज्ञानिकहरुले त्यस्ता भाइरसमाथि धेरै अनुसन्धान गरेका छन् जुन भाइरसले ब्याक्टेरियालाई नष्ट गरिदिन्छन् ।’
उनले पनि आफ्नो प्रयोगशालामा त्यस्ता भाइरसको सूची तयार पारिरहेकी छन्न्, जसले ‘एन्टिबायोटिक’को स्थान लिन सक्छन् ।
पछिल्लो समय कैयौं देशमा यस्ता पट्टीहरु तयार गरिएका छन् जसमा ‘निन्जा भाइरस’ हालिएका हुन्छन् । ती भाइरसले घाउ पुर्न सघाइरहे वा नरहेको हेरिँदैछ ।
हेन्ड्रिक्शनका अनुसार पहाड चढ्ने क्रममा घुँडामा चोट लागेको अल्फ्रेड गर्टलर नाम गरेका एक व्यक्तिको घाउ कुनै पनि ‘एन्टिबायोटिक’ले निको भइरहेको थिएन । उनको खुट्टा नै काट्नुपर्ने एकमात्र विकल्प रहेको बताइँदै थियो । त्यसपछि परीक्षण गर्ने हिसाबले उनको घाउमा निन्जा भाइरसको प्रयोग गरियो र १० दिनपछि घाउ निको भयो ।
अर्थात् अब ‘ब्याक्टेरिया’लाई भाइरसले नष्ट पार्नेछन् । रोग निम्त्याउने ‘ब्याक्टेरिया’का लागि भाइरस यमदूतको सेना तयार हुँदैछन् । बीबीसी फ्युचर / बीबीसी नेपाली
प्रतिक्रिया दिनुहोस्